काठमाडौं । आगामी आम चुनावको टिकट बाँड्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएसँगै नेकपा एमाले पंक्तिको ध्यान बालकोट केन्द्रित हुन पुगेको छ । बिहीबार मध्यरातसम्म (६ घण्टा बढी) चलेको सचिवालय बैठकले टिकटबारे निर्णय लिने अधिकार ओलीलाई दिएको थियो ।
तर सचिवालय बैठकबाट प्राप्त अधिकार अनुसार, टिकटबारे ओलीले अहिलेसम्म कुनै निर्णय लिएका छैनन् । ‘सर्तसहित अध्यक्षलाई टिकटबारे निर्णय लिने अधिकार दिइएको छ, अन्य दलसँग तालमेलको कुरा गर्नुपर्ने भएकाले पनि समय लाग्ने भयो’, एक पदाधिकारी भन्छन् । उनका अनुसार, टिकट वितरण गर्दा सम्बन्धित कमिटीका नेताहरूको परामर्श अध्यक्ष ओलीले सुन्नेछन् भने आवश्यक परे अर्को सचिवालय बैठक बोलाउनेछन् ।
आमअपेक्षामा रहेकै व्यक्तिहरू एमाले उम्मेदवार बन्ने भएकाले पनि टिकटबारे निर्णय लिन हतारिनु आवश्यक नरहेको ती पदाधिकारी बताउँछन् । ‘पार्टीप्रति प्रतिबद्ध र लोकप्रिय व्यक्ति नै उम्मेदवार हुन्छन्, थोरै ठाउँमा समस्या होला’ ती पदाधिकारी भन्छन्, ‘त्यस्तो ठाउँमा आवश्यक परामर्श गरी टुंग्याउने भन्नेछ ।’ ११ भदौमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाटै स्थायी कमिटी र पोलिटब्यूरोको प्रस्ताव अनुसार, जित्ने उम्मेदवार प्राथमिकतामा राख्ने एमालेले निर्णय गरिसकेको छ ।
तर पार्टी कमिटीबाट पारित मापदण्ड र नेताहरुको विश्वासभन्दा भिन्न निर्णय ओलीले लिन सक्ने आशंका पनि उत्तिकै छ । टिकट वितरणमा भइरहेको विलम्ब, सन्देहपूर्ण नेताहरुको अभिव्यक्ति र राजनीतिक घटनाक्रमले पनि त्यस्तो आशंकामा बल पुगेको देखिन्छ । मुख्यगरी प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका, तर १० बुँदे सहमति गरी एमालेमै बसेका नेताहरू आमचासोमा छन् ।
त्यसमध्ये पनि भीम रावलबारे हुने निर्णय अर्थपूर्ण बन्न पुगेको छ । किनकि गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केपी ओलीसँग अध्यक्ष पदमै प्रतिश्पर्धा गरेका रावल, अछाम–१ बाट सर्वसहमत सिफारिस भएका छन् । उच्च स्रोतका अनुसार, ओली भने रावललाई कुनै हालतमा टिकट दिने पक्षमा छैनन् ।
गएको सोमबार (१२ असोज) लेखराज भट्ट, कर्ण थापा लगायत सूदुरपश्चिम प्रदेशका नेताहरूलाई बोलकोट बोलाएरै ओलीले रावलको सिफारिसबारे सोधेका थिए । उनको चासो रावलको नाम एकल सिफारिस भएकोप्रति थियो । त्यसदिन बालकोट पुगेकामध्ये कर्ण थापा, रावलको टिकटबारे निर्णय हुन बाँकी नै रहेको बताउँछन् । ‘टिकटको निर्णय तलको कमिटीले गर्ने होइन, त्यसैले एकल सिफारिसको अर्थ रहँदैन’, उनी भन्छन्,‘टिकट पाउने नपाउने सम्भावना ५०÷५० प्रतिशत छ ।’
एमालेमा आकांक्षी नेताहरुको प्रस्ताव निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटी हुँदै केन्द्रमा आइपुग्ने व्यवस्था छ । त्यसरी सफारिस हुँदा रावलसहित ५६ नेताको नाम एकल आएको छ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायत पनि सर्वसहमत एकल सिफारिस भएका छन् ।
तर ओलीले अन्य नेताबारे प्रश्न गरेका छैनन् । सिफारिस भएर आएका नामहरूमाथि सचिवालय बैठकमा छलफल हुँदा पनि अध्यक्ष ओलीले रावलसँग आफैं कुरा गर्ने बताएका थिए । ‘प्रत्येक नेताबारे ब्यापक छलफल भयो, तर भीम रावलबारे भने अध्यक्षले म आफैं कुरा गर्छु भन्नुभयो’, ओलीको भनाइ उदृत गर्दै उच्च स्रोत भन्छन् ।
स्रोतका अनुसार, अहिलेकै अवस्थामा रावलले प्रतिनिधिसभा सदस्यको टिकट पाउने सम्भावना न्यून छ । ओली निकट एक नेता, रावलले विगतका गल्तीप्रति आत्मालोचना नगरी उम्मेदवार बन्नसक्ने अवस्था नरहेको बताउँछन् । ‘नेतृत्व संकटमा पर्दा साथ नदिनेहरुलाई सजिलै अवसर दिने कुरा हुँदैन । फेरि अराजकताविरुद्ध उभिने पार्टी नीति नै हो’ ती नेता तर्क गर्छन् ।
शुक्रबार काठमाडौं आइपुगेका रावललाई ओलीसँग भेटेर कुरा गर्न एमालेका केही पदाधिकारीले सुझाव पनि दिएका छन् । ‘भीम रावलले टिकट नपाउँदा नराम्रो सन्देश जान्छ । सर्वसहमत आएको नाम काटेर अर्कोलाई पठाउँदा मनोवैज्ञानिक असर पर्छ’, एक नेता भन्छन् ।
प्रकाशित मिति २०७९ असोज १९ गते बुधबार ०८:४३