काठमाडौं : नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार भएको हस्ताक्षरमा प्रदेश १ मा दुई सिट, मधेस प्रदेशको १४ सिट र लुम्बिनी प्रदेशमा एक सिटमा तालमेल गर्ने सहमति भएको हो। बाँकी ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ।
जसपाले मोरङ क्षेत्र ५, सुनसरी क्षेत्र १, मधेस प्रदेशअन्तर्गत सप्तरीको १, २ र ४, सिरहाको २ र ४, धनुषाको १, महोत्तरीको ३ र ४, सर्लाहीको १ र ४, रौतहटको २, बाराको २, पर्साको १ र २ र रुपन्देहीको ४ मा चुनावी तालमेल गर्ने भएको हो।
त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ४ सिट, मधेस प्रदेशमा ३२ सिट, लुम्बिनीमा ५ सिट र सूदुरपश्चिम प्रदेशमा १ सिटमा तालमेल गर्ने सहमति भएको हो।
गठबन्धन बैठकले केही सिट बाँकी राखेर सिट बाँडफाँट टुंग्याएको छ। जनता समाजवादी पार्टी (जसपा) ले पाउनुपर्ने भाग छाडेर गठबन्धनले बाँकी सिटमा सहमति गरेको हो।
जसपाले एमालेसँग चुनावी तालमेलका लागि अघि बढ्दै गर्ता यता सत्तारुढ दलहरूसँग महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जोडिएको छ। लोसपालाई कहाँ कति सिट दिने भन्ने छलफल जारी रहेको गठबन्धनका एक नेताले बताए।
बालुवाटारमा शुक्रबार बसेकोबैठकले माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने सहमति गरेको थियो। कांग्रेस ८४ सिट निश्चित भएको छ। तर लोसपासँग तालमेल गर्दा कुन सिट बाँडफाँट गर्ने विषयमा छलफलकै विषय रहेको ती नेताको भनाइ छ।
प्रकाशित मिति २०७९ असोज २२ गते शनिवार ०१:०३