काठमाडौं :
‘कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र करणी आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ ।
डीएनए परीक्षण र मिलेको अवस्थामा श्रेष्ठलाई करणीको आरोपमा सजायको माग गर्दै अनशन बसेकी निहारिकाकै मागअनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो ।
उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत ८ भदौमा आदेश दिएको थियो । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको छ ।
पिडित भनिएकी राजपुतले आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटार पुग्दा प्रहरीले आफूलाई पक्राउ गरेको बताएकी छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेपछि अझै पनि आफू प्रहरी कार्यालयमा रहेको राजपुतले बताइन् । उनी आफ्नो छोरा कर णीबाट जन्मिएको बताउँदै शिवराज श्रेष्ठसँग डीएनए जाँच गराउन माग गर्दै पटकपटक अनशन बसेकी थिइन् ।
सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो । डीएनए रिपोर्ट श्रेष्ठसँग म्याच भएको छ ।
प्रकाशित मिति २०७९ कार्तिक १९ गते शनिवार १२:२२