५ मंसिर, काठमाडौं । नेकपा एमालेले ललितपुर-२ लाई यसपटक करिब आश मारिसकेको थियो । कारण थियो, अघिल्लो पटक पार्टीबाट विजयी भएका सांसद कृष्णलाल महर्जन एकीकृत समाजवादीमा लाग्नु र उनी सत्ता गठबन्धनका तर्फबाट अहिले पुनः उम्मेदवार बन्नु । त्यसका साथै घण्टी र लौरो चुनाव चिह्न भएका नयाँ राजनीतिक दलले नयाँ मतदाताको मत खाँदा यो क्षेत्र जित्न सहज नभएको एमाले नेताहरुले स्वीकार गरेका थिए ।
तर मतगणनाको परिणामले एमालेलाई उत्साहित बनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाका एमाले ईन्चार्ज राजकुमार सिलवाल संगठनको बलमा बलियो मत आउँछ भन्ने विश्वासमा भए पनि जित हुन्छ भन्नेमा विश्वस्त हुन नसकेको स्वीकार गर्छन् । तर कुल ८१ हजारमध्ये खसेको ५१ हजार मतको आधाभन्दा बढी मतगणना सकिसक्दा उनी उत्साहित देखिएका छन् ।
हाम्रो मत काटिन सक्ने सम्भावना भएका स्थानको मत गणना चलिरहँदा हामी ठूलो मतले अगाडि छौं । अन्य चारवटा दलका उम्मेदवार करिब बराबरीमा प्रतिस्पर्धा गरिरहेका छन्,’ उनले भने, ‘यसपछि रिङरोडभन्दा भित्रको हामी संगठनका हिसाबले बलियो भएको क्षेत्रमा गन्दा अन्य तीनमध्ये दुईजना प्रतिस्पर्धी सँगै आउने देखिन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीको लहर भएको र हाम्रो नेपाली पार्टीका उम्मेदवारको पनि प्रभाव रहेका कारण रिङरोड भित्रका क्षेत्रमा भने मतगणना हुँदा उनीहरु प्रतिस्पर्धामा आउनसक्ने बताए ।
सार्वजनिक भएको मत परिणामअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनको अग्रता सुरूदेखि नै कायम छ । उनलाई लौरो चुनाव चिह्न भएका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । त्यसपछि गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार तथा निवर्तमान सांसद कृष्णलाल महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन थोरै मतान्तरले अघिपछि छन् । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले पछ्याइरहेका छन् ।
यो समाचार तयार पार्दासम्म एमालेका प्रेमबहादुरले ७,६७८ ले अग्रता लिइरहँदा हाम्रो नेपाली पार्टीका सुदिनले ६,७०० मत पाएका छन् । त्यसपछि एकीकृत समाजवादीका उम्मेदवार कृष्णलालले ४,८२८ मत, रास्वपाका बुद्धरत्न ४,६६२ र राप्रपाका रघुवरले ३,८३४ मत प्राप्त गरेका छन् ।
अर्थात पुराना राजनीतिक दलहरूसँग बिच्किएको मत यसपटक नयाँ दलका उम्मेदवारसँग आकर्षित भएको स्पष्ट छ । त्यसपछि कांग्रेसको मत गठबन्धनका उम्मेदवार महर्जनको साटो उनीहरुतिर गएको छ । तर त्यो मत रास्वपा, हाम्रो नेपाली र राप्रपातिर बाँडिदा एमालेलाई सहज भएको छ ।
एमाले उम्मेदवार प्रेमबहादुर आफूले अपेक्षा गरेको क्षेत्रमा अझै मतगणना हुन बाँकी रहेकाले जित निश्चित रहेको बताउँछन् । आफू नयाँ अनुहार भएको र संगठनको मत एकाकार भएर खसेकाले उनको बुझाइ छ ।
‘जितिन्छ भन्ने त सबैलाई लाग्छ । तर जित्न पनि उत्तिकै गाह्रो हुन्छ । बलियो संगठन र म चुनावका लागि नयाँ अनुहार भएको हुनाले पनि मत पाएको हुँ भन्ने लागेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘जनताले नयाँ अनुहार खोजेका छन् भन्ने त मसँग कसको प्रतिस्पर्धा भइरहेको छ भन्ने हेर्दा पनि थाहा हुन्छ । यससँगै गठबन्धनको अवस्था कस्तो छ भन्ने पनि यसले देखाउँछ ।उनले गठबन्धन दलहरूबीच इमान्दार सहकार्य हुन नसक्नु र नयाँ दलका उम्मेदवार बाँडिनुले पनि आफूलाई सहज भएको स्वीकार गरे ।
प्रकाशित मिति २०७९ मङ्सिर ५ गते सोमबार ०९:१४