नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन् । मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बनेका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरूसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताएका हुन् ।
उनले मतदाताको भनाइ र मागहरूलाई सम्बोधन गर्ने बताए । उनले भने, ‘मलाई चौथो पटक काठमाडौँ १ बाट विजयी गराउनु भयो । त्यो विश्वासलाई विगतमा जस्तो विश्वासमा अलिकति पनि आँच आउन दिने छैन । मतदाताको भनाइ, मागहरूलाई सम्बोधन गर्नेछु । यसपटक म आम मतदाताहरूका लागि जनप्रतिनिधिहरूसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनासो सुन्ने काम गर्नेछु ।
खानेपानीको समस्या समाधान गर्नेछु, मेलम्चीको पानी यो क्षेत्रमा ल्याउन छिटो गर्ने काममा प्राथमिकता दिनेछु । काठमाडौँका नदीहरू बागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाउन सोचिसकेका छौँ । बागमती, विष्णुमती पहिलाजस्तै बनाउनेछौँ । प्रदूषण नियन्त्रणका लागि काम गर्नेछौँ ।’
नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताए । उनले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको दाबी गरे । उनले भने, ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली काँग्रेसको संसदीय दलको नेताको लागि प्रतिस्पर्धा गरेकै हो ।
देशभरबाट काँग्रेसको सांसद जितेर आएकाहरूको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रोसेसमा जान्छ । विधि र प्रोसेसमा गइसकेपछि सबै साथीहरूसँग सल्लाह गरेर गर्ने कुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’
सत्ता गठबन्धनबाट साझा उम्मेदवार काँग्रेस नेता सिंह काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पछि पार्दै विजयी बनेका हुन् । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्दी मिश्रले ७ हजार १८ मत मात्रै ल्याउन सके ।
उता, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले आजैबाट संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन् ।काठमाडौं ४ बाट विजयी भएपछि उनले भने, ‘यो निर्वाचनले स्थिर सरकार मात्रै होइन । देश हाँक्ने उपयुक्त चालक पनि खोजेको छ । त्यो हाम्रो पार्टीले मात्रै दिन सक्छ । हामीले पार्टीलाई एकताबद्ध गरेर नयाँ नेतृत्व दिन आवश्यक छ । त्यो यो निर्वाचनको मतले देखाइसकेका छन् ।’
गठबन्धनले बहुमत प्राप्त गर्दै गठबन्धन नेतृत्वको सरकार बन्ने जिकिर गरे । जनतामा देखिएको आक्रोश र निराशालाई व्यवस्थापन गर्नु नै आगामी सरकारको चुनौती रहेको बताए ।
काठमाडौं ४ का मतदाताहरुको ऋणी भएको बताएका छन् । आफूलाई निर्वाचित गर्ने मतदाताको विश्वासमा ठेस लाग्ने कुनै काम नगर्ने समेत बताए । उनले जनतामा गरेको वाचा पूरा गर्ने प्रतिबद्धता गरे ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि फेरि दोहोरिने मनसायमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्ने बताउँदै आएका छन् ।
महामन्त्री गगन थापा त अझ सबैभन्दा पहिले प्रधानमन्त्री हुने भन्दै चुनावअघि नै घोषणा गरेका नेता हुन् । प्रधानमन्त्रीको लाइनमा देउवादेखि थापासम्म उभिँदा सिंह प्रधानमन्त्री होलान् नै भन्न सकिँदैन ।
सिंहका बुुबा गणेशमान भने प्रधानमन्त्री अस्वीकार गर्ने नेता हुन् । २०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमानले प्रधानमन्त्री अस्वीकार्दा छोरा प्रकाशमानले यसपटक प्रधानमन्त्री हुने भन्दै आएका हुन् । २०३४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएका उनी त्यसको दुई वर्षपछि अध्यक्ष भए ।
२०४७ देखि २०५७ सालसम्म निरन्तर १० वर्ष कांग्रेसको काठमाडौं जिल्ला सभापति भए । शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर कांग्रेस प्रजातान्त्रिक बन्दा उपसभापति बनेका सिंह २०६४ मा पार्टी एकीकरणपछि २०६७ मा भएको १२औँ महाधिवेशनमा महामन्त्री बने । उनी उपप्रधानमन्त्रीसमेत भइसकेका छन् ।
१४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बने पनि शीर्ष २ मा आउन सकेनन् । दोस्रो चरणमा सिंहले देउवालाई सघाए । २०४८ मा काठमाडौं–४ मा र २०५१ मा काठमाडौं–३ मा पराजित भएका सिंह २०५३ मा राष्ट्रियसभा सदस्य बनेका थिए ।
Source-anpunatimes
प्रकाशित मिति २०७९ मङ्सिर ६ गते मङ्गलबार ०६:३३