समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले ५ लाख मत पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको मत ६ लाख ९ हजार ९८६ मत ल्याएको हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३९८ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ६१ हजार ५२० मत रहेको छ भने नेकपा माओवादी केन्द्रको २ लाख ३१ हजार ८८ मत रहेको छ ।
राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको १ लाख ३६ हजार ७२८ मत रहेको छ भने जसपा नेपालको ५७ हजार २७१ रहेको छ । नेपाल मजदुर किसान पार्टीले ४७ हजार ४५२ मत तथा नागरिक उन्मुक्ति पार्टीको ३३ हजार ६३८ मत रहेको छ ।
जनमुक्ति पार्टीको ३३ हजार १० मत रहँदा नेकपा (एकीकृत समाजवादी)को ३२ हजार ७७९ मत रहेको छ । अन्य दलले १ लाख ११ हजार ४५० मत पाएका छन् ।
मत परिणाम हेर्दा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सक्ने सम्भावना कम देखिएकाे छ । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा कम्तीमा एक सिट जितेर समानुपातिकमा सदर मतकाे कम्तीमा ३ प्रतिशत पाउनुपर्ने व्यवस्था छ ।
यदि कुनै दलले प्रत्यक्ष तर्फ ५ -६ सिट ल्यायो समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होड पास गरेन भने उक्त दलको प्रतिनिधिसभामा प्रतिनिधित्व हुँदैन ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा जम्मा पाँच वटा दलले मात्रै समानुपातिक तर्फ तीन प्रतिशत भन्दा बढी मत ल्याएका थिए। तर ती पाँच वटा दलका विभाजन र एकताका कारण पछि चुनावसम्म आइपुग्दा छ वटा भए।
राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसद्मा एउटा संसदीय दलको कार्यालय सहित सांसदको सङ्ख्या अनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन्।
“राष्ट्रिय दलको मान्यता हुँदा उपलब्ध हुने सुविधा भन्दा पनि यसको राजनीतिक महत्त्व बढी छ। संसद् सचिवालयले यस्तो मान्यता पाएका दलहरूलाई संसदीय दलको सुविधा उपलब्ध गराउँछ,” संसद् सचिवालयका महासचिव भरतराज पौडेलले भने।
हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद् सचिवालयबाट गाडी सहित सचिवालय र कर्मचारी सुविधा पाउँछन्।
त्यस्तै राष्ट्रिय दलले हरेक निर्वाचनमा आफ्नो चुनाव चिन्ह कायम राख्ने सुविधा पाउँछन्। तर राष्ट्रिय दलको मान्यता असफल भएका पार्टीहरूले हरेक निर्वाचनमा त्यही चुनाव चिन्ह पाउँछन् भन्ने निश्चित हुँदैन। यद्यपि निर्वाचन आयोगले उनीहरूले रोजेको चुनाव चिन्ह प्रदान गर्दै आएको छ।
“त्यसबाहेक राष्ट्रिय मान्यता प्राप्त दलले पाएको मत अनुसार मतपत्रमा चुनाव चिन्ह पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिन्छ,” अर्यालले भने।
प्रकाशित मिति २०७९ मङ्सिर ८ गते बिहिबार ०२:४५