नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी संसदीय दलको नेता हुनका लागि चुनाव लड्ने तयारी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट भारी मतान्तरसहित थापा सांसद चुनिएका थिए।
थापाले चुनावी तयारी गर्दादेखि नै अब आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताइरहेका छन्। अन्तिम चुनावी परिणाम नआइसक्दै थापाले संसदीय दलको नेता हुन चुनाव लड्ने बताएका हुन्।
प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेता चुनिनु आवश्यक हुन्छ। थापाले संसदीय दलको नेता बन्नका लागि आन्तरिक तयारी गरिरहेका छन्।
सुरूमा आफूले पार्टीभित्रका केही नेता तथा निर्वाचित सांसदहरूसँग कुराकानी गर्ने र संसदीय दलको नेता चुनिन सहयोगका लागि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि शेखर कोइरालासँग छलफल गर्ने उनको तयारी छ।
आफू संसदीय दलको नेताका लागि तयारी गरिरहेको र प्रधानमन्त्री बन्नका लागि अघि बढेको कुरा आज थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग बताए।
‘कांग्रेसले नयाँ सरकार दिँदै गर्दा नयाँ सोच, नेतृत्व र नयाँ शैली दिएन भने पार्टीले ठूलो क्षति बेहोर्नुपर्छ भन्ने कुरा मतपरिणामले देखाएको छ,’ थापाले भने, ‘म अनुकूलता र प्रतिकूलता हेरिरहेको छैन, मतपरिणामको सन्देश हेरिरहेको छु।’
पूर्ण रूपमा मतपरिणाम आइसकेपछि सभापति देउवा, नेता पौडेल र कोइरालाका घरमा पुगेर संसदीय दलको नेता र प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गर्ने उनले बताए। उनले अब कांग्रेसमा आफूहरू सरकार चलाउन तयार भइसकेकोले सभापतिलगायत नेतालाई बाध्यता नरहेको पनि थापाको दाबी छ।
‘चुनाव जितेमा सरकारमा नजाने, प्रतिपक्षमा बसेर भ्रष्टहरुको घण्टी बजाउने’ बताउँदै जनमत सोहोरेका रवि लामिछानेले एकाएक आफ्नो अडान बदल्ने संकेत दिएका छन् । चितवनमा शुक्रबार प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र बुझ्दै लामिछानेले यस्तो जनाउ दिएका हुन् ।
‘चुनावको बेलामा हामीले कुनै गठबन्धन र तालमेल गरेनौं,’ सभापति लामिछानेले भने, ‘तर राष्ट्रहितमा काम गर्न दलहरुले आवश्यक परे हामीलाई सम्झनु होला । हामी सहकार्य गरेर अघि बढ्ने छौं ।’
अब ठूला दलहरुले उनलाई चित्त बुझ्नेगरी ‘राष्ट्रहित’ गर्न तयार हुनुपर्ने हुन्छ । त्यसपछि बन्न सक्नेछ नयाँ गठबन्धन । कुनै पनि पार्टीको बहुमत नहुने आगामी संसदमा लामिछाने कम्तीमा २२ सिटसहित एक नयाँ ‘किङमेकर’ का रुपमा उदाउँदै छन् । ‘दलहरुले सम्झेमा’ उनी सत्ता सहकार्य गर्नका लागि खुला देखिएका छन् ।
यसअघि स्वतन्त्र पार्टीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा नजाने, त्यसलाई समर्थन पनि नदिने संकेत गरेको थियो । कांग्रेसभित्रै नेतृत्व तथा नीति परिवर्तनको शर्त उनीहरुले राखेका छन् । रास्वपाका नेताहरुले एमालेप्रति भने नरम रहेको छनक दिएका छन् । नागरिकता लगायत मुद्दामा एमालेसँग रास्वपाको अडान मिल्छ ।
जनताले नयाँ विकल्प खोजिरहेकाले कांग्रेसबाट नयाँ अनुहार प्रधानमन्त्री बनेमा सरकारमा सहभागी हुन सक्ने रास्वपानिकट नेताहरू बताउँछन् । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । थापा प्रधानमन्त्री बनेमा रास्वपाले सहयोग गर्ने स्थिति देखिन्छ । ‘उहाँ (गगन थापा) संसदीय दलको नेता बन्न सक्नुहुन्छ, हुँदैन थाहा छैन । यदि देउवा नै बन्नुभयो भने हामी सरकारमा जाने स्थिति रहदैँन,’ रास्वपाका एक नेताले भने ।
रास्वपाले कांग्रेस वा एमालेसँग सहकार्य गर्न अप्ठेरो नरहेको स्पष्ट पारेको छ । यसका लागि नेतृत्वमा देखिने गरी परिवर्तनको आभास हुनुपर्ने उसको अडान छ । कांग्रेस सभापति शेरबहादुर देउवाको ठाउँमा नयाँ नेतृत्व अघि सर्ने हो भने आफ्नो समर्थन उसैलाई हुन सक्ने उसका नेताहरुले बताए ।
कांग्रेस संसदीय दलको नेतृत्व दाबी गर्दै गरेका गगन थापासँग उनीहरुको छलफल सुरु भइसकेको संकेत प्राप्त छ । कांग्रेसभित्र एकमना अवस्था नआएको अवस्थामा एमालेसँग मिलेर अघि बढ्ने जनाउ उनीहरुले दिए । ‘कुरा मिलेन भने प्रतिपक्षमा बस्न हामीलाई अप्ठेरो छैन, खासमा हामीले चुनावमा जाँदैगर्दा यो सबै कुरा सोचेर गएको पनि होइन,’ रास्वपाका एक नेताले भने ।
Source-galaxykhabar
प्रकाशित मिति २०७९ मङ्सिर १० गते शनिवार ११:२०