काठमाडौं, ११ पुष ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रधानमन्त्री दाहाल आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
बालुवाटार प्रवेश गर्नुअघि प्रधानमन्त्री दाहालले बालुवाटारमा महँगो र भड्किला सामान नकिन्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् । प्रचण्डले आफू निर्णायक अवस्थामा देशको नेतृत्वमा पुगेको भन्दै अब आफ्नो कार्यकालमा आर्थिक क्रान्तिमा योगदान पुर्याउनेगरि काम गर्ने बताउँदै आएका छन् ।
प्रचण्डले आफ्नो सहयोद्धा नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि साथ लिएर आर्थिक विकासको लागि दीर्घकालिन योजनाका साथ काम गर्ने तय गरेका छन् ।
राप्रपा सरकारमा नजाने
राप्रपा सरकारमा नजाने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल सरकारमा सहभागी नहुने जानकारी दिए ।राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि समर्थन दिएको छ ।
राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिएसँगै सो दलको आलोचना भएको थियो ।पार्टीभित्रको दबाबका कारण राप्रपा अध्यक्ष लिङ्देनले सरकारमा नजाने निर्णय गरेको पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
अहिले सत्ता गठबन्धनको बैठक नयाँ बानेश्वरमा जारी छ । सो बैठकले सरकारमा सहभागी हुने दल र पाउने मन्त्रालयको बारेमा टुँगो लगाउने छ ।
प्रकाशित मिति २०७९ पुस ११ गते सोमबार १२:४७