काठमाडौं ।
प्रदेश– १ प्रदेशसभाका पाँच सदस्यहरुले आफ्नो मात्रृभाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार विराटनगरमा आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश अर्थमन्त्रीसमेत रहेका इन्द्रबहादुर आङ्वोसहित पाँच सदस्यहरुले मात्रृभाषा (लिम्बू भाषा)मा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार लिम्बू भाषामा शपथ लिने अन्य सांसदहरुमा इलाम १ (१) बाट निर्वाचित खिनु लङ्वा लिम्बू, नेकपा (एकीकृत समाजवादी)का पाँचथर १ (१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १ (२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले याक्थुङ(लिम्बूं) भाषामा शपथ लिएका हुन् ।
मात्रृभाषामा शपथ लिने आङ्वो पाँचथर प्रदेश १ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हुन् । उनले औपचारिक रुपमा शपथ लिँदै पाँचथरे जनतामा धन्यवाद व्यक्त गरेका छन् ।
त्यस्तै उनले यो कार्यकालमा जनताद्वारा निर्देशित जनभावना अनुसारको कार्य गर्ने प्रतिबद्धता गरेका छन् । साथै उनले भाषा आयोगले प्रदेश –१ का लागि कामकाजको रुपमा सिफारिस गरेको लिम्बू भाषामा शपथ गरेको पनि उल्लेन गरेका छन् ।
भाषा आयोगले २०७८ भदौ २९ गते लिम्बू भाषालाई सरकारी कामकाजीको रुपमा मान्यता दिएको थियो ।
शपथ विवरण
प्रकाशित मिति २०७९ पुस १२ गते मङ्गलबार १०:४१