१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रभावकारी उद्धारका लागि निर्देशन समेत दिएका छन् ।
‘दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ’ प्रचण्डको सचिवालयले भनेको छ ।
दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् । साथै, प्रधानमन्त्रीले दिउँसो साढे १ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।
२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।
आज जहाज उडाइरहेका क्याप्टेन कमल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नु पर्ने थियो ।
जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ ।
प्रकाशित मिति २०७९ माघ १ गते आईतबार १२:२६