सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।
वैठकले विमानमा उडानअघिको जाँचपड्ताललाई चुस्त बनाउने निर्णय समेत गरेको छ।
बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा पर्यटनमन्त्रालयका बुद्धिसागर रहेका छन् ।
आइतबार पोखरामा यती एयरलाइन्सको ९एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा २९ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरिसकेको छ। विमानमा ५३ नेपाली र १५ विदेशी यात्रामा सवार थिए।
विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।
यति एयरलाइन्सको नाइन एन एएनसी जहाज आज बिहान १०:५० बजे सेती खोंचबाट अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क भएको थियो।
प्रकाशित मिति २०७९ माघ १ गते आईतबार ०६:२०