सन्दीप बिना नेपालको टिम घोषणा

सन्दीप बिना नेपालको टिम घोषणा

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण ११ गते बिहिबार ०३:४१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ । क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेबिनाको १५ सदस्सीय टिम घोषणा गरेको हो । मंगलबार...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ ।

क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेबिनाको १५ सदस्सीय टिम घोषणा गरेको हो ।

मंगलबार मात्र सकिएको विश्वकप लिग टू को खेलमा करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए ।

एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो । सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, विदेश जान भने रोक लगाएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए।

नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपाली टोलीमा श्याम(मौसम) ढकाल र प्रतिश जी.सी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।

नेपाली टोली

रोहित पौडेल,  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल

प्रकाशित मिति २०७९ फाल्गुण ११ गते बिहिबार ०३:४१
प्रतिक्रियाहरु