काठमाडौं -: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो व्यक्तिगत नभई राजनीतिक मतभेद रहेको बताउनुभएको छ ।
उहाँले प्रधानमन्त्री ओलीले गरेका असंवैधानिक निर्णयको आफुले विरोध गरेको बताउँदै सर्वोच्च अदालतले पूर्व एमालेलाई यथावत राख्ने निर्णय गरेकाले ओली आफ्नो पार्टीको अध्यक्ष रहेको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भन्नुभयोे,“सर्वोच्च अदालतले नै पूर्व एमालेलाई यथावत राखेपछि हामी पनि यथावत पदमा फर्केका छौँ, पार्टीको नवौं महाधिवेशनबाट ओली जी अध्यक्ष चयन हुनुभएको हो, म उपाध्यक्ष त्यसैले अब हामी देशकको हितमा काम गर्न एकजुट भएर काम गछौँ ।
ओली नै प्रधानमन्त्री रहने कि नरहने भन्नेबारे निर्णय पार्टीले लिने उहाँले बताउनुभएको छ । नेकपा एमाले र नेकपा माओवादी आगामी दिनमा पनि देशको हितमा एकजुट भएर अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।नेता रावलले भविष्यमा सकेसम्म माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएन भने पनि सहकार्य भने यथावत राख्ने दावी गर्नुभयो ।
नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गर्नु भएको छ ।
उनीहरू सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर गरिएको महासचिव पोखरेलले बताउनुभयो ।तत्कालीन एमालेको विधानअनुसार महासचिव प्रमुख रहने सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य छन् ।
प्रकाशित मिति २०७७ फाल्गुण २५ गते मङ्गलबार १०:४०