फागुन, काठमाडौं -: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेपछि प्रचण्ड बाबुरामलाई भेट्न टोखास्थित भट्टराई निवास पुगेका थिए ।मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गराएका प्रचण्ड लगत्तै भेटवार्तामा सक्रिय भएका हुन् ।
सत्ता सहकार्यदेखि तराईमा देखिएका विभिन्न समस्या समाधान गर्ने उद्देश्यले आवश्यक छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै कार्यदल गठन गरेका छन् ।
कार्यदलमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई छन् भने जसपाबाट सोही पार्टीका नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।
सदस्य शुक्लाले कार्यदल गठन भएको पुष्टि गरेका छन् । कार्यदलको पहिलो बैठक सोमबार नै भएको शुक्लाले बताए । सत्ता सहकार्यका लागि नभइ आफूहरुले उठाउँदै आएको मुद्दा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यदल गठन भएको उनको बताए ।
प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुरसँग बालुवाटारमा सत्ता सहकार्यबारे छलफलसमेत गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली जसपाले उठाउँदै आएको माग सम्बोधन गर्न तयार रहेका छन् ।
जसपाले संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयकलगायत उठाउँदै आएको छ । यस्तो लाल आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग समेत जसपाले गर्दै आएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रकाशित मिति २०७७ फाल्गुण २६ गते बुधबार ०८:३४