काठमाडौं -: माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बुझिएको छ । त्यसका लागि आज माओवादी केन्द्रले स्थायी कमिटीको बैठक पनि राखेको छ ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टी कमिटीमा सघन छलफल नभए पनि त्यस्तो सम्भावना रहेको औँल्याए ।हिजो (मंगलबार) हामी बस्यौँ, विषय प्रवेश मात्रै भयो । आज यस विषयमा छलफल हुन्छ । आजै समर्थन फिर्ता लिने सम्भावना पनि छ, उनले भने ।
पौडेलले हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बीचमा पनि कुराकानी भएको र दुवैले आ–आफ्नो पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी भएको बताए ।कांग्रेस नयाँ समीकरणका लागि सकारात्मक छ, उनले भने,हामी पनि आज छलफल गर्छौँ ।
मौजुदा संसद्मा नेकपा (माओवादी केन्द्र)को ५३ सिट छ । नयाँ सरकारका लागि १३४ मत (हाल कायम रहेको सांसद संख्याको आधारमा) आवश्यक हुन्छ । कांग्रेससँग ६३ र जसपासँग निलम्बितसमेत गरी ३४ मत छ ।
प्रकाशित मिति २०७७ फाल्गुण २६ गते बुधबार ११:२२