उर्लाबारी २२ मंसिर -: चर्चित वक्ता तथा गायक रमेश प्रसाईले मेचीनगर–१० काँकरभिट्टास्थित निवासमै आज बेहुली भित्राउँदै छन् ।आज उनको कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा विहे भइरहेको छ ।आज विहान ९ बजे काँकरभिट्टाबाटै ३ वटा गाडीमा जन्ती लिएर उनी धरान गएका थिए ।बेहुलीलाई उनले काँकरभिट्टाकै घरमा आज बेलुका भित्राउने छन् ।
धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा छ भन्ने धेरैलाई थाहा पनि छैन ।काँकरभिट्टाको भानुटोलमा दसानो घडेरीमा उनको दुईतले घर छ । घरमा बुवा, आमा र भाइवहिनीहरु बस्दै आएका छन् ।उनी भने धरानमै बस्दथे । धरानमा विहे हुने भएपछि धेरैले वरियात धरानबाटै आउलान् र बेहुलीसमेत धरानमै भित्राउने होला भन्ठानेका थिए ।
तर उनले आफ्नै घरबाट जन्ती लैजाने र बेहुली भित्राउने इच्छा गरेका थिए ।जन्ती थोरै संख्यामा गएका छन् । विहेको वैदिक विधि पूरा गर्नका लागि काँकरभिट्टास्थित आफ्नै छिमेकी पण्डित हेमन्त अधिकारीलाई धरान लगिएको छ ।जन्ती जाँदा लगाएको दौरा, सुरुवाल, कोट र टोपीमा उनी निकै खुलेका थिए, साह्रै सुहाएको थियो । निकै हतारमा रहेका उनीसँग फोटो खिचाउन भीड लागेको थियो ।अपरान्ह सवा १ बजे जन्ती टोली विहेस्थलमा पुगेको जानकारी प्राप्त भएको छ । धरान उद्योग वाणिज्य संघको हलमा वैवाहिक कार्यक्रम राखिएको छ ।वेहुली नन्दा सिंह काठमाडौंबाट विहेका लागि धरान आएर आफन्तको घरमा बसेका थिए ।