काठमाडौँ -: मेरो धरहरा : म बनाउँछु’ भन्ने अभियानअन्तर्गत सुरु भएको धरहरा निर्माण कार्य सम्पन्न भएको छ । सरकारको सम्पूर्ण लगानी रहेको धरहरा निर्माणमा हरेक नेपालीको श्रम र पसिनाको स्वामित्व छ । ‘त्यसैले सबै नेपालीले गौरवका साथ भन्न सक्छौँ, “हामीले बनायौँ, हाम्रो धरहरा ।
सुनको जलपले टिलिक्क टल्किने गजुरसहितको धरहरा २०७२ सालको भूकम्पले ढलेको ठ्याक्कै छ वर्षपछि ठडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको धरहरा उहाँले नै शनिबार उद्घाटन गर्दै हुनुहुन्छ’ ।
प्रधानमन्त्री ओलीले २०७४ फागुन ४ गते धरहराको ठूटो छेउमा उभिएर ऐतिहासिक धरोहर पुनर्निर्माण सङ्कल्पअन्तर्गत ‘मेरो धरहराः म बनाउँछु’ भन्ने अभियानको घोषणा गर्नुभएको थियो । ‘अभियानमा मुलुकभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई सहयोग गर्न आह्वान गर्नुभएको थियो ।
उहाँले भन्नुभएको थियो, ‘‘म भन्छु धरहरा हरेक नेपालीले बनाउनेछन् ‘। एक एक नेपालीले बनाउनेछन् । मैले बनाउँछु, धरहरा म निर्माण गर्छु भन्ने नाराअन्तर्गत हामी आर्थिक सङ्कलन गर्नेछौँ । त्यसका लागि छुट्टै खाता खोलिनेछ र धरहरा निर्माण हुनेछ ।
धरहरा म बनाउँछु, हामी बनाउँछौँ । ‘हरेकको पसिना र मिहिनेतले धरहरा बन्छ,उहाँले भन्नुभएको थियो । यस कामका निम्ति प्रधानमन्त्री ओलीले तत्काल बैङ्क खाता खोल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिनुभएको थियो ।
उहाँले भन्नुभएको थियो, मेरो एक महिनाको तलब राखेर खाता खोल्नुहोस् ।उहाँले संसारको जुनसुकै कुनामा रहनुभएका सबै नेपालीलाई सम्बोधन गर्दै ‘हामी देश बनाउन सक्छौँ, हामी देशलाई नयाँ ढङ्गले उठाउन सक्छौँ ‘। त्यस हिसाबले धरहराको पुनर्निर्माणलाई अगाडि बढाउनका निम्ति म सबैलाई हार्दिक अनुरोध गर्दछु,’ भन्नुभएको थियो ।
प्रधानमन्त्रीको घोषणापछि सोही दिन साँझ बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा पुनर्निर्माण अभियानको औपचारिक निर्णय गर्दै सहयोग गर्न सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेको थियो । प्रधानमन्त्रीको निर्देशनको भोलिपल्ट राष्ट्रिय वाणिज्य बैङ्कमा खाता खोली रकम सङ्कलन सुरु गरिएको थियो ‘।
खातामा सबभन्दा पहिला प्रधानमन्त्रीको एक महिनाको तलब जम्मा गरिएको थियो ‘। खातामा राष्ट्रपति, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, कर्मचारीहरू र सर्वसधारणद्वारा समेत रकम जम्मा गरिएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार त्यसबेला तत्काल सो खातामा २४ करोड रुपियाँ जम्मा भएको थियो । तीन अर्ब ४८ करोड रुपियाँको लागतमा धरहरा निर्माण सम्पन्न भएको छ ‘। यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
प्रकाशित मिति २०७८ बैशाख ११ गते शनिवार ०९:०१