काठमाडौँ -: प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवर्द्धन गरिरहेको बताउनुभएको छ । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवीप्रति शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ,’ उहाँले भन्नुभएको छ, ‘यसरी हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ ।’ सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनर्परिभाषित गरेको पनि उहाँले बताउनुभएको छ ।
सरकारले श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको पनि उहाँकाे भनाइ छ ।
दुई लाखलाई न्यूनतम राेजगारी
प्रधानमन्त्री ओलीले एक आर्थिक वर्षमा २ लाखभन्दा बढीलाई न्यूनतम सय दिनको राेजगारी वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको दाबी गर्नुभएकाे छ ।
उहाँले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताउँदै भन्नुभएकाे छ, ‘स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेका छन् ।’
साथै नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गर्नुभएको छ ।
न्युनतम ज्यादा वृद्धि हुने
प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्दै मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्याइने समेत बताउनुभएको छ । यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने छ । प्रतिघण्टा पारिश्रमिक ६९ रुपियाँबाट ७७ रुपियाँ हुनेछ ।
सन्देशमा भन्नुभएकाे छ, ‘सामाजिक सुरक्षा र औपचारिक तथा अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरूलाई क्रमशः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने छ । यसको सुरुवात यसै आर्थिक वर्षबाट लागू हुने गरी दैनिक ज्यालादारी र करार सेवामा कार्यरत सरकारी सेवाका कामदार/ कर्मचारीहरूबाट गरिने छ ।’
सबैलाई खाेप
यसैबीच, प्रधानमन्त्रीले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई छिट्टै उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गर्नेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको दाबी गर्दै उहाँले हालसम्ममा पहिलो डोज खोप लगाउनेको सङ्ख्या १९ लाख नाघिसकेको बताउनुभएकाे छ ।
साथै, हाल मुलुकभर पीसीआर परीक्षण प्रयोगशाला ८७ वटा पुगेको, अस्पताल र स्वास्थ्य चौकीको सङ्ख्या ८ हजार ९८२ रहेको पनि उहाँले बताउनुभएकाे छ ।
काेराेना महामारीपछि शैयामा ३८.४ प्रतिशत वृद्धि भएको र यस वर्ष मात्रै ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि एकैपटक शिलान्यास गरिएको बताउनुभएकाे छ । अर्को वर्ष थप २०४ स्थानीय स्तरका अस्पताल निर्माण सुरु गरिने पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।
प्रकाशित मिति २०७८ बैशाख १८ गते शनिवार ०८:४३