२३ वैशाख, काठमाडौं -: वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।
छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले अनलाइनखबरलाई जानकारी दिए ।
मलाई भाउजूले नै फोन गर्नुभएको थियो । केही समय अगाडि मात्र उहाँको निधन भएको हो । म अस्पताल आइपुगेको छु,’ उनले भने ।प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।
सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् ।
सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् ।
प्रकाशित मिति २०७८ बैशाख २३ गते बिहिबार ०३:२८