विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजन पुर्याउन थालेका छन् । बजारमा अक्सिजन पाउन गाह्रो छ । अक्सिजन नपाएका सङ्क्रमितका लागि मेयरले सिलिन्डर बोकेर घर–घर पुर्याउन थालेका हुन् ।
मेरो गाडीमा अक्सिजन पिपिईलगायत स्वास्थ्य सामग्री भइरहन्छ, उनले भने, जनताले फोन गर्छन्, अति आवश्यक रहेछ भने घरसम्म पुर्याइदिन्छु ।
बजारमा अक्सिजन सिलिन्डर कम भएका कारण नपाएपछि सर्वसाधारणले आफूलाई फोन गर्ने उनले बताए ।सङ्क्रमितको व्यवस्थापनमा महानगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ,’ उनले भने, ‘हाम्रो स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टिम परिचालन भएको छ, जनताले बोलाएको ठाउँमा पुग्छु ।
कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझेर मात्रै अक्सिजन दिइने गरेको उनले बताए ।स्वास्थ्यकर्मीको टिमले अक्सिजन लेभलको जाँच गर्छ, आवश्यक छ भने हामी पुग्छौँ,उनले भने, हामीसँगै हुने स्वास्थ्यकर्मीले अक्सिजन जोडिदिन्छन् ।
आफू राति पनि अक्सिजन पुर्याउन खटिएको उनले बताए । ‘जनतालाई ग्राह्रो भएको जानकारी पाउँदा राति पनि पुग्छु, अस्ति राति ११ बजे सरौँचिया पुगेँ,’ उनले भने, ‘मेरो टिमलाई २४ सै घण्टा सक्रिय हुनुपर्छ भनेको छु ।
विराटनगर महानगरपालिकामा दैनिक दुई सयभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिरहेको छ । सोमबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय ५७ पुगेको छ ।
प्रकाशित मिति २०७८ बैशाख २६ गते आईतबार ०१:५५