काठमाडौँ -: नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले संसदमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको उक्न पक्षका सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । साे बैठकमा माधव पक्षका सांसदहरू उपस्थित नहुने र विश्वासकाे मत नदिने निर्णय गरिएकाे बताइएकाे छ ।
सांसदहरुको बैठकपछि अहिले सिंहदरबारमा नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक पनि बसिरहेको छ । सांसदहरूले अनुपस्थित हुने कि राजीनामा दिने भन्नेबारे स्थायी कमिटीले अन्तिम निर्णय गर्ने एक नेताले जानकारी दिए ।
नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार बहिर्गमनको विकल्प नभएको निष्कर्ष निकालेको छ। त्यसका लागि बन्ने गठबन्धनमा आफूहरुको साथ रहने नेपाल समूहले निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुको साथ रहने निष्कर्ष निकालिएको सांसद मेटमणि चौधरीले बताए । ‘हामीले ओली सरकारको बहिर्गमन हुनुपर्छ भनेका छौं, त्यसका लागि बन्ने काँग्रेस, माओवादी र जसपाबीचको गठबन्धनमा हाम्रो साथ रहन्छ’, उनले भने ।
सोही रणनीतिका साथसाथै आज केही सांसदले राजीनामाबारे असन्तुष्टि समेत जनाएपछि हाललाई राजीनामा टरेको बताइएको छ । यसबारे थप रणनीति बनाउन अझै पनि केही सांसदहरु छलफलमा रहेको बताइएको छ ।
आजको बैठकले ओलीलाई विश्वासको मत दिन संसद बैठकमा नजाने र राजीनामा पनि तत्काल नदिने निर्णय भएको चौधरीको भनाइ छ। बैठकमा नेपाल पक्षका भनिएका ३५ सांसदमध्ये २५ जनाको सहभागिता रहेको थियो भने ३ सांसद निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै बीचमै बैठकबाट बाहिरिएका थिए ।
प्रकाशित मिति २०७८ बैशाख २७ गते सोमबार १२:०५