काठमाडौं -: काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेर रमिता देखाएका छन् । सरकारको विषयमा सर्वाेच्च अदालतमा दायर रिटमाथि सुनुवाइको क्रम चलिरहँदा यसरी मन्त्रिपरिषद पुनर्गठन गर्न नमिल्ने राजनीतिका जानकारहरु बताउँछन् । अहिले देशमा संविधान र कानुन नभएर ओली तन्त्र चलेको छ । आफूलाई जे लाग्यो त्यो गर्दै हिँडेका छन् ।
यस अघि कहिल्यै नदेखिएको विचित्र अहिले देखिएको छ । उनी अहिले सिंगो पार्टी नै आफू भए जसरी मनलाग्दी निर्णय गरेका छन् । अंक गणितको आधारमा कुर्सी बचाउन उनले यतिसम्म गरेका छन् कि जसपाको महन्थ ठाकुर पक्षलाई मालदार मन्त्रालय सुम्पेर आफ्ना राम्रा मन्त्रीहरुलाई समेत पत्तै नदिइ हटाइदिए । उनले आफनो पार्टीमा त असन्तुष्टिको विजारोपण गरे नै जसपाभित्र समेत सत्ताको ललिपप बाँडेर भाँडभैइलो मच्चाइदिएका छन् ।
अनुभवी र राम्रो काम गर्दै आएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हटाएर उनको स्थानमा उपप्रधानमन्त्री सहित रघुवीर महासेठलाई भित्र्याएका छन्। महासेठलाई ओलीले उपप्रधानमन्त्रीसहित परराष्ट्रको जिम्मेवारी दिँदा सबै छक्क छन् । महासेठको सरकारमा इन्ट्री हुँदा उनकी श्रीमती जुली महतो बाहिरिएकी छन्। गुट बदल्न माहिर शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ,वसन्तकुमार नेम्वाङ र लीलानाथ श्रेष्ठको मन्त्री पद कायमै रहेको छ ।
ओलीले आफनो कुर्सीका लागि सफल र योग्य मन्त्रीहरुलाई बिना जानकारी हटाउँदा उनीहरुलाई हियुमिलेट फिल भएको छ । हुन त ओली सरकारमा पहिला पनि त्यति धेरै राम्रा मान्छे त थिएनन् तर अहिले थपिएको उनको सारथिहरु हेर्दा जनताले खुशी मान्नुपर्ने कुनै ठाउँ छैन । आफनो गुनगान आउनेलाई दायाँबायाँ नहेरी धमाधम नियुक्ति गरेका छन् ।
पदको गरिमालाई थेग्न नसक्ने जस्तो देखिनेहरु पनि नियुक्तिमा परेका छन् । हुन त यसबाट प्रधानमन्त्री ओलीका मान्छेहरु कस्ता कस्ता रहेछन् भन्ने पनि छर्लङ्ग भएको छ । काेरोना माहामारीको यो समयमा अरु भन्दा पनि स्वास्थ्य र परराष्ट्र मन्त्रीलाई कायमै राखेको भए उनीहरुले आफ्नो काम देखाउने क्रममा थिए ।
अब नयाँले सुरुबाट पहल गर्नु पर्ने देखिन्छ । प्रधानमन्त्रीले आफ्नो कुर्सी मात्र बचाउन खोज्नु हुन्न । कोरोनाबाट जनतालाई बचाउने के छ त नयाँ योजना ? मागेकै भरमा सबैलाई कोरोना विरुद्धको खोप लगाउने सोच राख्नु हुन्न । यदि तत्कालै खरिद नगर्ने हो भने धेरैले ज्यान गुमाउनुपर्ने अवस्था आउँछ ।
ओलीले पत्तै नदिइ हटाएका एमालेका मन्त्रीहरु के अब नेता माधव नेपालतर्फ जाने सम्भावना छ त? स्रोतका अनुसार भर्खरै हटेका कतिपय मन्त्रीहरु नेता नेपालसँग सम्पर्क गर्न थालेका छन् । पदका लागि मात्र वरपर भएका ओलीका मान्छेहरु विस्तारै टाढिने अवस्था देखिएको छ । आफूलाई राजनीतिका चातुर खेलाडी ठान्ने ओली एक दिन पत्तै नपाइ उठ्नै नसक्ने गरी लड्ने राजनीतिका जानकारहरु बताउँछन् ।
प्रकाशित मिति २०७८ जेठ २२ गते शनिवार ११:४८