काठमाडौं, १ पुस -: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बुधबार दुई अध्यक्षबीच राजनीतिक प्रस्ताव फिर्ता गर्ने बिषयमा सहमति भएको भन्ने समाचारहरु सत्य नभएको जनाएको छ ।
राजनीतिक प्रस्ताव फिर्ता गर्न सहमति भएको भनेर आएका कुराहरु भ्रामक र कपोकल्पीत भएको अध्यक्ष प्रचण्डको सचिवालयले बताएको छ । प्रस्तावहरु माथि स्थायी समिति र केन्द्रीय समितिमा छलफल हुन बाँकी नै रहेको अध्यक्ष प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ ।
दुई अध्यक्षबीच बुधबार (हिजो) जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने र संसदको अधिवेशन माग गर्दै नेकपा सांसदहरुले राष्ट्रपति कार्यालयमा पेश गर्न लागेको आवेदन मात्रै फिर्ता गर्ने बिषयमा सहमति भएको सचिवालयको भनाइ छ।
तर बुधबार दिउँसो बालुवाटार स्रोतले यसअघि छलफलमा भएका दुई अध्यक्षबीचको राजनीतिक प्रस्ताव पनि फिर्ता लिने सहमति भएको भन्ने सूचना दिएको थियो । उता बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले पनि छलफलका क्रममा राजनीतिक प्रस्ताव फिर्ता गर्ने ओली पक्षले माग राखेको तर अध्यक्ष प्रचण्डले अस्वीकार गरेको बताएका छन् ।
प्रकाशित मिति २०७७ पुस १ गते बुधबार ०९:०५