काठमाडौं -: निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता झलनाथ खनालको हस्ताक्षर सनाखत गरेको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत् पठाइएको खनालको हस्ताक्षर सनाखत गरिएको आयोगले जनाएको हो ।
आइतबार चन्द्रागिरी हिल्स रिसोर्टमा जम्मा भएका एकीकृत समाजवादी पार्टीका नेताहरु बुधबार आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेका थिए । यसअघि भदौ ९ गते बुधबार सनाखतका लागि आयोगले बोलाएको थियो ।
बुधबार एकीकृत समाजवादी पार्टीका सांसद र केन्द्रीय सदस्यहरु आयोग पुगेका थिए । ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुले दल दर्ताको सनाखतमा हस्ताक्षर गरिसकेका छन् ।
नयाँ दल दर्ताको प्रमापत्र आजै आयोगले दिने बताइएको छ । तर, हालसम्म त्यसबारे जानकारी बाहिरिएको छैन ।
बुधबार एकीकृत समाजवादी पार्टीका नेताहरुसँगै जनता समाजवादी पार्टीबाट अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका महन्थ ठाकुर समूहका नेताहरु पनि दल दर्ता सनाखतका लागि आयोग पुगेका थिए ।
दल दर्ताका लागि सनाखत गर्न १४ सांसद र १७ जना केन्द्रीय सदस्य आयोगमा पुगेका थिए । दल दर्ता सनाखतमा निलम्बित सांसद रेशम चौधरीको नाम भए पनि आयोगले चौधरीको हस्ताक्षर सनाखत गरेन ।
२०७५ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका एसएसपीसहित ७ प्रहरी र १ नाबालकको निर्मम हत्या गरिएको अभियोगमा हाल उनी जेलमा रहेका छन् ।
प्रकाशित मिति २०७८ भदौ ९ गते बुधबार ०९:२६