प्रधानमन्त्री शेर बहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने भएका छन्।भारतीय राज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जान लागेका हुन्।
प्रधानमन्त्री देउवा पुस २५ गते भारतका लागि प्रस्थान गर्नेगरी तयारी अघि बढाइएको छ। स्रोतका अनुसार देउवा तीनदेखि चार दिनसम्म भारतमा रहनेछन्।देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको पुष्टि गरे।
भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी गर्दैछ’ उनले नेपालखबरसँग भने।प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भ्रमणको तयारी गर्न निर्देशन दिएका छन्।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले ओमिक्राेनकाे संक्रमण बढे भ्रमण राेकिन सक्ने सम्भावनासमेत रहेकाे बताए। तर भ्रमणकाे गृहकार्य भने भइरहेकाे उनले जानकारी दिए।
भारतले अघिल्लो महिना प्रधानमन्त्री देउवालाई दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ का लागि निमन्त्रणा पठाएको थियो। देउवाले भ्रमणको निमन्त्रणा स्वीकार गरिसकेका छन्। समिटमा अर्थमन्त्री जनार्दन शर्मालाई पनि निम्तो पठाइएको छ।
गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर हो। गुजरात राज्य सरकारले आयोजना गर्ने उक्त ग्लोबल समिट मोदीले उद्घाटन गर्नेछन्।
पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा नेपाल, श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ मा उक्त समिटको अवधारणा अघि सारिएको थियो। हरेक दुई वर्षमा उक्त समिट हुँदै आएको छ। यसपालिको समिटको नारा ‘आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत’ दिइएको छ।
समिटमा विश्वका आर्थिक क्षेत्रका प्रभावशाली ब्यक्ति, लगानीकर्ता र राजनीतिक व्यक्तित्व गरी १३५ देशका ४० हजार पाहुना सहभागी हुनेछन्।भ्रमणका दौरानमा देउवाले समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। देउवा प्रधानमन्त्री भएयता पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन्।
पछिल्लोपटक प्रधानमन्त्री बनेयता देउवा पहिलो विदेश भ्रमणमा बेलायतको स्कटल्याण्ड गएका थिए। उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागिता जनाएका थिए।
स्कटल्याण्ड भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन भेट गरेका थिए। भेटमा दुई प्रधानमन्त्रीबीच भ्रमण आदान प्रदान गर्ने सहमति भएको थियो।
प्रकाशित मिति २०७८ पुस १० गते शनिवार १०:४६