काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार अपराह्न संसद बैठकमा सहभागी भएनन्। केही दिनयता ज्वरोले सताएका कारण उनी संसदमा आउन नसकेका हुन्।
चुनावी दौडधूपमा कारण ओली वैशाख २७ गतेदेखि नै अस्वस्थ रहेको स्रोतले बतायो।
‘धपेडीका कारण सामान्य ज्वरो आएको थियो, आजचाहिँ अलि गाह्रो भएकाले बिहान अस्पताल लगिएको हो,’ओली निकट स्रोतले नेपालखबरसँग भन्यो,‘अहिले घरमै आराम गरिरहनुभएको छ, अवस्था समान्य नै छ, धपेडीका कारण सामान्य ज्वरो आएको मात्र हो ।’
स्थानीय तहको चुनावका बेला एमाले अध्यक्ष ओलीको सक्रियता अन्य नेताहरुको भन्दा धेरै देखिएको थियो । एकै दिन विभिन्न जिल्लाका धेरैवटा सभामा सहभागी हुने गरेका ओली चुनावअघिसम्म एकपटक पनि विसञ्चो भएनन् ।
ओलीको सक्रियता सबैका लागि उदाहरणीय देखिएको थियो। ओली बिरामी भएको खबर बाहिरिएपछि नेताकार्यकर्ता चिन्तित बनेका छन् ।
काठमाडौंको शंखरापुर नगरपालिकामा सत्ता गठबन्धन र एमाले समेतलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो ।
राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।
राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।
यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं। ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
प्रकाशित मिति २०७९ जेठ ३ गते मङ्गलबार ०७:५४