काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका छन् । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।
करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भएको भन्दै उनले यसको विरोध गर्नुको औचित्य नभएको पनि अर्थमन्त्री शर्माले बताए । करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी गरे ।
‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’
विचौलियालाई फाइदा हुने गरी बजेट बनाएको होइन
अर्थमन्त्री जनार्दन शर्माले विचौलियालाई फाइदा हुने गरी बजेट नबनाएको प्रष्टीकरण दिएका छन् ।
सोमबार राष्ट्रियसभामा अर्थ मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उद्योगी, किसान र व्यवसायीलाई फाइदा हुने गरी ल्याएका कार्यक्रमलाई विचौलियासँग जोड्न नमिल्ने बताए ।
‘कहाँनेर के मा विचौलियालाई फाइदा भयो ?’ उनले प्रश्न गरे, ‘औद्योगिक क्षेत्रको विकासका लागि नीति बनाउँदा विचौलियालाई फाइदा भयो भन्ने ? ’
निकासी गर्ने उद्योगलाई विद्युत छुट दिँदा करिब २०० उद्योगले फाइदा लिन सक्ने भन्दै उनले निकासी गर्ने उद्योग थपिए उनीहरुले पनि यो सुविधा पाउने बताए ।
सांसदहरुले अर्थमन्त्री शर्मालाई विद्युतीय गाडीमा कर किन बढाएको भनी प्रश्न गरेका थिए । उनले महंगा विद्युतीय गाडीमा मात्र कर बढाएको बताए ।
‘बजारमा धेरै प्रकृतिका गाडी छन्, १२–१३ वटा गाडी छन्, जो सस्ता छन्’ उनले भने, ८–१० किसिमका महंगा गाडी छन् ।’ महंगो गाडी किन्न सक्नेसँग कर धेरै संकलन गर्ने उद्देश्य राखिएको पनि मन्त्री शर्माले बताए ।
प्रकाशित मिति २०७९ असार १४ गते मङ्गलबार ०९:२३