डा. भट्टराई थपिँदा हौसिए प्रचण्ड, कांग्रेसमा चिन्ता

डा. भट्टराई थपिँदा हौसिए प्रचण्ड, कांग्रेसमा चिन्ता

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १ गते बुधबार ०८:२५

काठमाडौं : राजनीतिलाई कायापलट गर्ने भन्दै वैकल्पिक ‘शक्ति’ जन्मिए। सशस्त्र युद्धबाट उदाएको माओवादी देशकै ठूलो दलसमेत भयो । तर, पछिल्लो समय घुमीफिरी राजनीतिका केन्द्रमा आइपुगेका छन् मुख्य दुई दल– एमाले र कांग्रेस । चुनाव जित्न...

काठमाडौं : राजनीतिलाई कायापलट गर्ने भन्दै वैकल्पिक ‘शक्ति’ जन्मिए। सशस्त्र युद्धबाट उदाएको माओवादी देशकै ठूलो दलसमेत भयो । तर, पछिल्लो समय घुमीफिरी राजनीतिका केन्द्रमा आइपुगेका छन् मुख्य दुई दल– एमाले र कांग्रेस ।

चुनाव जित्न तिनकै वरिपरि गोलबद्ध हुन चाहन्छन् बाँकी अधिकांश दल । त्यसैले चुनावी राजनीति दुई ध्रुवमा विभक्त भएको छ। गठबन्धनका कारण स्वतः कांग्रेस नेतृत्वमा बढी दल जुटेका छन् । एमालेसमेत पाए/मिलेसम्म अन्य दलसँग खास ठाउँमा सहकार्यको पहलमा छ।

‘वामपन्थी र कम्युनिस्ट आन्दोलनमा बाबुराम र प्रचण्डसँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्व छ,’ पुष्पकमल दाहालले मंगलबार अर्को घोषणा गरे, ‘हामी उभियौं। अब कसैले रोकेर रोक्न सक्दैन। चुनावपछि एउटै केन्द्र बनाउने सहमति भएको छ।

प्रचण्डजत्ति नै डा. बाबुराम भट्टराई पनि हौसिएका छन्। जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराईलाई माओवादीको मात्रै होइन, सत्ता गठबन्धनकै साथ हुनेछ।

नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका वामदेव गौतम पनि माओवादी केन्द्रकै चुनाव चिन्हबाट चुनाव लड्न सहमत भएका छन्। डा. भट्टराई र गौतम थपिएपछि आफ्नो शक्ति अझ ठूलो रहेको भन्दै गठबन्धनमा बार्गेनिङ गर्न प्रचण्डलाई सहयोग पुगेको नेताहरू बताउँछन्।

बैकल्पिक शक्ति स्थापना गर्ने भन्दै माओवादी छोडेका डा. भट्टराई पुनः माओवादीकै चुनाव चिन्हबाट लड्ने भएका छन्। गौतम २०७४ सालमा बर्दिया–१ मा पराजित भएका थिए। तत्कालीन नेकपाले झन्डै दुईतिहाइ सिट जित्दा पनि गौतम ‘सुरक्षित’ मानिएको क्षेत्रमै पराजित भए।

त्यसपछि उनी चुप लागेनन्। उपनिर्वाचन गरेर प्रतिनिधिसभामा आउन प्रयास गरिरहे। पछि राष्ट्रियसभामा जाने चाहना राखे। राष्ट्रियसभामा पठाउने कि नपठाउने भन्नेमा तत्कालीन नेकपामा तीव्र विवाद भयो। राष्ट्रपतिबाट मनोनित कोटामा गौतमलाई राष्ट्रियसभामा त पठाइयो। तर, नेकपा विभाजन भयो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा गौतम कतै लागेनन्। २०७७ फागुन २३ मा नेकपा विघटन भएपछि पार्टीमा सक्रिय भएनन्।

२०७८ भदौ २ मा एमाले पनि विभाजन भयो। माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो। गौतमका विश्वासपात्रहरू एकीकृत समाजवादीमा लागे। तर, उनी निष्कृय रहे। पार्टीको राष्ट्रिय एकता अभियान त चलाए। छुट्टै पार्टीको अभ्यास गरे।

हालै निर्वाचन आयोगमा पार्टी दर्ता गराए। यो पार्टीको अवस्था खासै बलियो नदेखेपछि उनी माओवादीसँग मिलेर चुनाव लड्ने निष्कर्षमा पुगेका हुन्। ‘चुनाव जित्नका लागि माओवादीको चुनाव चिन्ह लिने कुरा भएको हो,’ गौतम भन्छन्। उनी प्युठान वा बर्दिया–१ मध्ये एक ठाउँबाट चुनाव लड्ने नेताहरू बताउँछन्।

धेरै थपिँदा कांग्रेसमा चिन्ता

सत्तागठबन्धनमा दलहरू थपिँदै जाँदा कांग्रेसका नेताहरू खुसी हुनुपर्नेमा अधिकांश चिन्तित देखिन्छन्। जति नेता वा पार्टी थपिँदै जान्छन्, कांग्रेसको भाग घट्दै जाने हो कि भन्ने चिन्ता उनीहरूमा छ। यसबाट डा. शेखर कोइराला पक्ष अझ बढी सशंकित छ।

त्यही कारण कोइराला पक्षले छुट्टै भेला गरी ४० प्रतिशत सिट आफ्नो पक्षलाई दिन देउवा पक्षमाथि दबाब बढाएको छ।

त्यसैकारण कोइराला पक्षधर नेताहरू गठबन्धनको विपक्षमा छन्। तर, कांग्रेसले नगरे अरू पार्टी गठबन्धन गर्ने र त्यसो हुँदा कांग्रेसको पक्षमा चुनाव परिणाम नआउने बुझाईमा संस्थापन देउवा पक्ष छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘कांग्रेस ठूलो पार्टी त हो।

तर, अरू सबै मिल्दा एक्लै जित्ने अवस्थामा छैनौं। त्यसैकारण गठबन्धन बनाउनु परेको हो।’ यो समाचार आजको अन्नपुर्णमा प्रकाशित छ ।

प्रकाशित मिति २०७९ भदौ १ गते बुधबार ०८:२५
प्रतिक्रियाहरु