सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ : केपी ओली

सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ : केपी ओली

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ३ गते शुक्रबार ०४:५८

झापा - एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन मा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् । गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास...

झापा –

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन मा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् । गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे ।

नेताहरुको गठबन्धन लाई आगामी निर्वाचन मा जनताले ठेगान लगाउने दाबी गरेका अध्यक्ष ओलीले देखिएका गठबन्धन मा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने जिकीर गरे ।

सरकारले प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने दाबी गरे ।

जनताले भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने दोहाेर्याए ।

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन्।

पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। त्यसका लागि पार्टीका सबै विभागहरूले विज्ञहरुसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भईरहेको पनि सचिव भट्टराईले जानकारी दिए।

उनले पार्टीले तयार पार्ने चुनावी घोषणा पत्र मुलुकमा विद्यमान आजको चुनौतीलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने पनि बताए।

सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणा पत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे।

एमालेले पार्टीका सबै विभागलाई यही भाद्र १५ गते भित्र चुनावी घोषणा पत्रका लागि मस्यौदा तयार पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ। सोही अनुसार सबै विभागहरूले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए।Source-sagarmathadaily

प्रकाशित मिति २०७९ भदौ ३ गते शुक्रबार ०४:५८
प्रतिक्रियाहरु