तिलोत्तमा — मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् । बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ गरेको केसीले बताए । यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो भनिएको जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।
बागलुङको तमानखोलामा भेटिएको ग्रिनेड नेपाली सेनाले निस्क्रिय पारेको छ । तमानखोला गाउँपालिका वडा नं. ३ को सेर्माखाला बस्ने स्थानीय टेकमाया बुढाको घरमा भेटिएको ग्रिनेड घोडाबाँधेस्थित श्रीमेहर गणबाट खटिएको टोलीले निस्क्रिय बनाएको हो ।
प्रहरीका अनुसार टेकमायाका ज्वाइ मानबहादुर रोकायले ५ महिनाअघि राख्न दिएको झोला खोली हेर्दा डल्लो वस्तु भेटिएको थियो ।
टेकमायाले उक्त वस्तु शनिबार छिमेकीलाई देखाएकी थिइन् । स्थानीयले उक्त वस्तुले खतरा हुनसक्ने भन्दै सेनालाई खबर गरेका थिए । उक्त वस्तु राख्न दिने रोकाय भूतपूर्व भारतीय सेनाका जवान हुन् ।
उक्त जानकारी पाएपछि श्रीमेहर गणका गणपति देवभक्त माडी श्रेष्ठले डिस्पोजल टोली पठाएका थिए । टोलीले सफलतापूर्वक ग्रिनेड निस्क्रिय पारेकोले केही क्षति नभएको श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति २०७९ भदौ ६ गते सोमबार ०३:१९