राष्ट्रपतिको गतिविधि अस्वभाविक : प्रचण्ड

राष्ट्रपतिको गतिविधि अस्वभाविक : प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १० गते शुक्रबार १२:५५

विराटनगर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिलाई अस्वभाविक रहेको टिप्पणी गरेका छन्। नागरिकता विधेयकका विषयलाई लिएर नेपाली सेनाका पूर्वउच्च पदस्थलाई...

विराटनगर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिलाई अस्वभाविक रहेको टिप्पणी गरेका छन्।

नागरिकता विधेयकका विषयलाई लिएर नेपाली सेनाका पूर्वउच्च पदस्थलाई राष्ट्रपतिले भेट्नु स्वभाविक नदेखिएको उनको भनाइ छ।

‘सेनाका पूर्वउच्च पदस्थलाई भेट्नु स्वभाविक देखिएन। यसले मुलुकका घटना क्रमलाई तरंगित पारेको छ,’ प्रचण्डले भने, ‘तर कुनै राजनीतिक संकट भने ल्याउँदैन। राष्ट्रपतिको गतिविधि स्वभाविक पक्कै हैन।’

विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नागरिक विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा पारित हुने विश्वास व्यक्त गरे।

‘राष्ट्रिय सभाबाट विधेयक सर्वसम्मत पारित हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नु हुनेछ।’

उनले आगामी निर्वाचनमा गठबन्धन लचिलो, जिम्मेवार र उदार भएर अघि बढ्नुपर्ने पनि बताए।

गठबन्धनभित्र सिट बाँडफाँटको विषय आगामी १५ गतेभित्रै टुंगिने प्रचण्डको दाबी छ। ‘१६५ निर्वाचन क्षेत्रमै गठबन्धन हुन्छ। त्यसभित्रै मिलाउनुपर्ने छ।

यसका लागि कार्यदलले समेत काम गरिरहेको छ,’ उनले भने, ‘कुन क्षेत्रमा कहाँ-कसले जित्ने सम्भावना छ भन्ने हेर्नुपर्ने हुन्छ।

सम्भावनाका आधारमा गठबन्धन हुन्छ। अहिले नै ‘हार्ड एण्ड फास्ट’ गर्नु हुँदैन।’ गठबन्धनभित्र कसैले पनि आफ्नो गोरुको बाह्रै टक्का गर्न नहुने उनको भनाइ छ।

बाहिर चर्चा भएजस्तो गठबन्धनमा जटिलता नरहेको प्रचण्डको दाबी छ। ‘हामी सबै कुरा मिलाएर सहमतिमा अघि बढ्छौं,’ उनले भने, ‘कार्यदलले करिब करिब टुंग्याउने हिसाबमा काम गरिरहेको छ।’

Source-anpurnapost

प्रकाशित मिति २०७९ भदौ १० गते शुक्रबार १२:५५
प्रतिक्रियाहरु