नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच एउटै मञ्चमा छेडछाड भएको छ। बुधबार काठमाडौंमा भएको अखिल क्रान्तिकारीको अखिल फोर्स कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्ड र शर्माबीच छेडछाड भएको हो।
प्रचण्ड अगाडि बोलेका शर्माले प्रचण्डको आलोचक र रक्षक आफैं भएको दाबी गरेका थिए। त्यसको जवाफ दिँदै प्रचण्डले जनार्दनलाई हुर्काएको र रक्षा पनि आँफैले गरेको बताए।
‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षा,’ प्रचण्डले औला तोक्दै भने, ‘ जनार्दनलाई रक्षा गर्ने र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा तराईँहरु सबैले बुझन् जरुरी छ।’
प्रचण्डले आफूले सबै खालको आन्दोलनको नेतृत्व गरिसकेकोले राम्रो उत्तराधिकारीको खोजी गरिरहेको बताए। तर, गुटगट प्रवृत्तिबाट माथि उठ्ने उत्तराधिकारी नभएको प्रचण्डको भनाई थियो।
‘मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधानसभाको पनि नेतृत्व गरेँ, संघीय लोकतान्त्रिक गणतन्त्रको पनि, मेरो लागि धेरै चिज भएकै छ। अब मेरो सपना के हो त?
राम्रो उत्तराधिकारीहरू तयार हुन् । तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन,’ प्रचण्डले थपे, ‘तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन्।
हाम्रो क्रान्तिकारी विरासतलाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती गरेर अगाडि बढुन। यही मेरो सपना छ। विद्यार्थी साथीहरुले एकतावद्ध भएर यो सपना पूरा गर्न लाग्नुहोस्।’
जम्मा ८ मिनेट बोलेका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र, आन्दोलनलाई बलियो बनाउन सबैलाई फिल्डमा जान निर्देशन दिए।
पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सो कुरा बताएका थिए । ‘म नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायीत्व हो,’ उनले भने, ‘अध्यक्षको सबैभन्दा बढी आलोचक मै हुँ, अध्यक्षको ंरक्षक र रक्षा गर्ने पनि मै हुँ,’उनले भने।
नीति र नेतृत्वको रक्षा नहुँदा आन्दोलन पनि नहुने बताएका हुन्। ‘चाकडीले रक्षा हुँदैन। व्यवहारमा क्रान्तिकारी हुनुपर्छ,’ शर्माले भने, ‘आजको नेपालको राजनीति अध्यक्षकै वरिपरि घुमिरहेको छ।’
अराजक गर्नेलाई नेतृत्वले पुलपुल्याउने कुरा खराब भएको उनले बताए। ‘संगठन विधि र पद्धतिमा बस्नपर्यो, पद र शक्तिको होडमा आज कुरा गर्ने होइन,’ शर्माले भने, ‘विद्यार्थी संगठनमा देखिएको समस्याको समाधानका लागि लाग्नुहोस्।’
कसैले कुरा लगाइदिएको भरमा अध्यक्षले कसैको कुरा सुन्न नहुने उनको भनाई छ। ‘जनताको जनमत लिएर अध्यक्ष कमरेडले चितवनमा गरेको जस्तै भाषण सबैले सिक्नुपर्छ,’ शर्माले भने, ‘स्वार्थ समूहले स्वार्थ पुर्तिका लागि केही गर्न सक्छन्।
Source- anpurnatimes
प्रकाशित मिति २०७९ भदौ २२ गते बुधबार ०४:२१