गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति जुट्न नसक्नुकाे कारण के हाे ?

गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति जुट्न नसक्नुकाे कारण के हाे ?

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ २८ गते मङ्गलबार ११:५६

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचको तयारीलाई तिब्रता दिईरहँदा दलहरु भने सिट बाँडफाँट र उम्मेदवार छनोटमा नै अल्मलिएका छन् । प्रतिनिधिसभाको कार्यकाल सकिन एक साता पनि छैन् । नेकपा...

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचको तयारीलाई तिब्रता दिईरहँदा दलहरु भने सिट बाँडफाँट र उम्मेदवार छनोटमा नै अल्मलिएका छन् ।

प्रतिनिधिसभाको कार्यकाल सकिन एक साता पनि छैन् । नेकपा एमालेलाई साइजमा ल्याउन भन्दै गठबन्धनमा जोडबल गर्दै हिँडेका दलहरुले सिट संख्यामा दाबी नछाड्दा झण्डै एक महिनादेखि चल्दै आएको सत्ता गठबन्धनको बैठक निश्कर्ष बिहिन हँुदै आएको छ ।

सहमति होला भन्दा पनि भाँडिएला भन्ने चिन्ता दलहरुलार्ई छ । कार्यदलका सदस्य एवं मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सहमतिपूर्ण तवरबाट छलफल भईरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताए ।

केही निर्वाचन क्षेत्रमा सबै दलहरुले आआफ्नो दाबी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल भईरहेको छ। आम निर्वाचन नजिकिएसँगै राजनीतिक दलका धेरै नेताहरुको धड्कन बढेको छ ।

आकांक्षी व्यवस्थापनका कारण सिट नपाउने र त्याग गर्नुपर्ने समस्या त दलका नेताहरुले भोग्दै आएका थिए । तर यस पटक सत्तारुढ पाँच दल एक भएर चुनावमा जाने भएपछि धेरै चर्चित र हेवीओइट नेताहरुले टिकट नै नपाउने अवस्था छ ।

चुनाव नजिकिएसँगै यतिबेला दलहरुको तल्लो कमिटीबाट चुनावमा उम्मेदवार बन्न सिफारिसमा परेका नेताहरुको काठमाडौंमा बाल्लो ओहोरदोहोर देख्न सकिन्छ। उनीहरु गाउँघरको समस्या लिएर काठमाडौं आएका होइनन् ।

उनीहरु आफ्नो नाममा टिकट पक्का गर्न नेता भेट्न आएका हुन् ।अहिले सिफारिसमा परेका दलका नेताहरुको काठमाडौंमा चहलपहल बाक्लो छ। उनीहरुले बालुवाटार, बालकोट, खुमलटार र कोटेश्वरको ढोका ढक्ढक्याइरहेका छन् ।गठबन्धनका कारण आफ्नो पकड क्षेत्र अरुलाई छाड्नुपर्ने हो कि भन्ने चिन्ता सत्तारुढ दलका नेताहरुलाई परेको छ । यस्तै तर्क र बिचारले पनि सिट बाँडफाँट हुन नसकेको नेताहरु बताउँछन् ।

कांग्रेसका नेताहरु प्रत्यक्षतर्फ १०० सिट भन्दा तल मान्न नहुने अडान लिइरहँदा माओवादीले पनि ६० र एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।

सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि अहिल्यै गठबन्धन टुट्ने सम्भावना भने नरहेको नेताहरूको भनाइ छ ।समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिन नजिकिँदा दलहरूलाई सिट बाँडफाँट टुंग्याउन दबाब बढेको छ ।

दलहरु आ आफनो अडानबाट एक इन्च पनि पछि नहट्ने हो भने दलहरु एक्लाएक्लै चुनावी मैदानमा जानुपर्ने हुन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि त्यही चाहना छ । यदि यस्तो अवस्था आयो भने माओवादी र समाजवादी पत्तासाफ हुने कांग्रेसका नेताहरु बताउँछन् ।

नेकपा एमाले यतिबेला देशव्यापी रुपमा चुनावी अभियान तिब्र पार्दै लगेकोे छ । अध्यक्ष केपी शर्मा ओली तराई झर्दा एमाले तराईको पार्टी भन्दै हिँडेका छन् भने पहाड उक्लदा पहाडको भन्दै जनताको मत बटुल्दै हिँडेका छन् ।

 

प्रकाशित मिति २०७९ भदौ २८ गते मङ्गलबार ११:५६
प्रतिक्रियाहरु