kathmandu
संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो ।
यता संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सहभागिता नरहने भएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधान दिवसको कार्यक्रममा कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई निम्तो गरिएको बताए ।
‘राणा हाल निलम्बनकै अवस्थामा रहनुभएकाले उहाँलाई खबर गरिएको छैन,’ उनले भने ।
निलम्बित प्रधानन्यायाधीश राणा अहिले बालुवाटारस्थित सरकारी निवासमा नै छन् । यद्यपि, उनको पीएसओ र गाडी भने सरकारले खोसेको छ । अस्तिबाट प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि दायर भएको महाअभियोग निस्क्रिय भएको निष्कर्षसहित राणा हिजो सर्वोच्च फर्किने तयारी गरेका थिए । तर, सुरक्षा निकायले उनलाई निवासमै घेराउ गरेर बाहिर निस्किन दिएन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने चोलेन्द्रको निस्कर्षमा ‘सहमत’ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो सञ्चारकर्मीहरुसँग गठवन्धन सरकारले नै प्रक्रियामा ढिलाइ गरेर चोलेन्द्रलाई सफाइ दिएको बताएका थिए ।
मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छु: एमाले अध्यक्ष
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका मौलिक हकलाई व्यवहारमा सफल बनाउन आफ् अघि बढेको बतमाएका छन् ।
संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अब ती कुरालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताए ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको बताएका छन् ।
संविधान दिवसको शुभकामना दिँदै देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उल्लेख गरेका छन् ।
७ वर्षअघि घोषणा भएको नेपालको संविधान सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रकाशित मिति २०७९ असोज ३ गते सोमबार ०३:५०