काठमाडौं
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भनेर मिडियाबाजी भइरहेका बेला सत्ता गठबन्धनको सदस्य दल माओवादी केन्द्रका निर्वाचित सांसदहरुले देउवाकै नेतृत्वमा सरकार बन्नुपर्ने धारणा अघि सारेका छन् ।
कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतले संसदीय दलमा भिड्ने र प्रधानमन्त्री बन्ने दाबी गरिरहेका बेला माओवादी प्रभावशाली नेतृ रेखा शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने र नेतृत्व अर्थात सभापति देउवाले लिनुपर्ने धारणा राखेकी हुन् ।
दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी स्वाभाविक रहेको बताइन् ।
उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको हुने भन्दै बाहिरबाट थप टिकाटिप्पणी आवश्यक नरहेको धारणा राखिन् । संसदीय दलको नेता प्रधानमन्त्री हुने भन्दै शर्माले बहुमत सांसदको समर्थन पाउने व्यक्ति नै दलको नेता हुने भन्दै देउवा नै हुने संकेत गरिन् ।
शर्मा दाङ २ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर सांसद बनेकी नेतृ हुन् । माओवादीका अन्य नेताले पनि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने र देउवा तथा प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्ने बताइरहेका छन् । Source: Nepal Pana
प्रकाशित मिति २०७९ मङ्सिर १७ गते शनिवार ०१:००