काठमाडौं ।
साउदी प्रो लिग अन्तर्गत गएरातिको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले ४ गोल गरेका छन् । अल नासरको तर्फबाट रोनाल्डो एक्लैले अल वेहदा बिरुद्ध ४ गोल गरेका हुन्।
उनको उक्त गोलको मद्दतमा अल नासर ४–० ले विजयी भएको छ ।यो सँगै रोनाल्डोले आफ्नो करियरमा लिग खेलको ५०३औँ गोल गरेका छन् । उनले खेलको २१औँ मिनेटमा पहिलो गोल गरेका थिए ।
त्यस्तै ४०औँ मिनेटमा उनले दोस्रो गोल गरे । ५३औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ६१औँ मिनेटमा उनले चौथो गोल थपेका थिए ।
जितसँगै रोनाल्डोको क्लव अल नासर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
अल नासरले १६ खेलबाट ३७ अंक जोडेको भने समान ३७ अंक जोडेको अल शाबब दोस्रो स्थानमा छ । तर अल शाबबले १७ खेल खेलिसकेको छ ।
त्यस्तै १५ खेलबाट ३४ अंक जोडेको अल इत्तिहाद तेस्रो स्थानमा छ ।पराजित अल वेहदा १५ अंकका साथ १६औँ स्थानमा छ ।
प्रकाशित मिति २०७९ माघ २७ गते शुक्रबार १०:०३