काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध परेको रिटको आज सुनुवाइ हुने भएको छ।
मुद्दाको पेशी सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा तोकिएको छ।अधिवक्ता सुनिल रञ्जनसिंहलगायतका पाँचजनाले छुट्टाछुट्टै रिट दायर गरेका छन्।
नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको कदम संविधान विपरित भएको भन्दै उनीहरुले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ (४) बमोजिम संवैधानिक दायित्व पूरा नगरेको दाबी गर्दै धारा १३३ (२) (३) बमोजिम विधेयक प्रमाणीकरणका लागि परमादेश आदेश जारी गर्न उनीहरूले माग गरेका छन्। प्रमाणीकरणका विषयमा राष्ट्रपतिलाई संविधानले स्वविवेकको अधिकार संविधानले नदिएको दाबी रिटमा गरिएको छ।
रिट निवेदनमा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ। राष्ट्रपतिलाई विपक्षी बनाउन नहुने संवैधानिक व्यवस्था भएकाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको हो।
संघीय संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्।राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि त्यसको विरोध सुरु भएको छ।
Source-anpurnapost
प्रकाशित मिति २०७९ असोज ७ गते शुक्रबार ११:२१