काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ दलसँग माओवादीको एकता हुन लागेको बताएका छन् ।उनको नयाँ खुलासाले राजनीति वृतमा चर्चा पाएको हो । यो खुलासाले नेकपा एमालेलाई धक्का लागेको छ ।
सत्तारुढ गठबन्धनमा रहेका चार पार्टीबीच आउँदो चुनावमा गठबन्धन गर्ने समझदारी भएको खुलासा गरेका हुन् । बिहीबार चितवनमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच आगामी चुनावमा गठबन्धन हुने बताएका हुन् ।
‘हामी, एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा र मोहनबिक्रम सिंहको पार्टीबीच अहिले नै गठबन्धन बन्ने कुरामा प्रतिवद्धता पनि छौँ र आधार छ’ उनले भने, ‘कांग्रेससँग जहाँ निरंकुश प्रवृत्ति, प्रतिगामी प्रवृत्ति हावी हुन्छन् ।’
‘जहाँ तिनीहरु अलि बलियो छन् । त्यो ठाउँमा हामीले कांग्रेससँग सिट एडजस्टमेन्ट गर्ने बाँकी ठाउँमा प्रतिस्पर्धा गर्ने र गठबन्धनलाई कायम राख्ने भन्ने केन्द्रीय स्तरमा समझदारी छ’ उनले भने ।
प्रचण्डले आउँदो चुनावमा यसरी गठबन्धन गर्न सकेमा देशको एक नम्बर मोर्चा बन्ने र राजनीतिक नेतृत्व आफूहरुको हातमा आउने बताए । उनले पार्टीको वैचारिक, सांगठनिक स्थिति मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिए । ‘जनतासँगको सम्बन्ध मजबुत बनाउन सकेनौं भने मोर्चाबाट मात्र सफलता प्राप्त गर्न सकिँदैन’ प्रचण्डले भने ।
कांग्रेसका नेताहरुले गठबन्धनमा चुनाव नलड्ने बताइरहेका बेलामा प्रचण्डले त्यसैलाई बल पुग्ने कुरा गरेपछि राजनीतिले नयाँ मोड लिएको छ । अब देशमा त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी निर्वाचनमा एमाले, कांग्रेस र माओवादीबीच तिब्र प्रतिशपर्धा हुने छ ।
एमालेको बीऊ नै रहेन देशकै नमुना जिल्ला, सबै एकीकृत समाजवादीमा प्रवेश !
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पकड बलियो बनाउदै लगेको छ । यही क्रममा जुम्ला जिल्लाको पूरै एमाले नेकपा एकीकृत समाजवादीमा विलय भएको छ । कुल ६१ जना जिल्ला समिति सदस्यमा ५८ जना एकीकृत समाजवादीतिर ढल्किएका हुन् ।
दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्यले मात्र एमालेमै बस्ने निधो गरेसँगै एमालेको पूरै भाग एकीकृत समाजवादीमय भएको हो । नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु मात्रै रहेको बताइएको छ ।
जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन् । यसअघि जुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर रोकायाले प्रदेश निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत गरिसकेका छन् ।
धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले यसअघि निष्काशन गरिसकेको थियो । योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ।
०७४ को निर्वाचनमा जुम्लामा एमालेले अध्यक्षमा १, उपाध्यक्षमा १ र १७ वटा वडामा वर्चश्व कायम गरेको थियो । जसमध्ये अध्यक्ष जितेका तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी आफु एमालेमै रहेको रातोपाटीलाई जानकारी दिए । यस्तै उनको वडा तहका जितेका वडा–३ वडामा कालीबहादुर रावत, ३ मा सिंह बुढा, ४ मा सन्तबहादुर शाही पनि एमालेमै रहेका छन् ।
१७ जनामध्ये ८ जना वडा अध्यक्ष एमालेमै रहेका छन् भने ३ जनाले अहिलेसम्म प्रष्ट धारणा बनाएका छैनन् । यस्तै बाँकी ६ जनाले एकीकृत समाजवादी रोजेका छन् । उपाध्यक्षमा जितेकी सिंजा गाउँपालिकाकी जन्मकन्या खत्री यसअघि एमालेमै रहेकी थिइन् । यद्यपि, उनी एकीकृतमा खुल्ने मनसाय बनाएको समाजवादीले दावी गरेको छ ।
चन्द्रनाथ नगरपालिकाका –६ को अध्यक्षमा अजबहादुर रावल, ७ मा नरविर रावल, ८ नरजित दमाई, तालोपानी गाउँपालिका–४ को अध्यक्षमा धीर जैसी, ८ मा कृण्णबहादुर शाही लगायत वडाअध्यक्षहरूले समाजवादीमा सनाखत गरिसकेका छन् । एकीकृत समाजवादीमा पूरै एमाले रुपान्तरित भएसँगै एमालेमा सन्नाटा छाएको छ र ठूलो झड्का लागेको छ ।
राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र पनि हो : वर्षमान पुन
काठमाडौँ — नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै यसलाई संविधानको घोर उल्लंघन भएको बताएका छन् ।संसद्ले पास गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको आलोचना भएको छ । यसै क्रममा माओवादी नेता पुनले राष्ट्रपति भण्डारीको कदमले नेपाली नागरिकलाई राज्य विहीन बनाउने र निर्वाचन बिथोल्ने षड्यन्त्रको रुपमा व्याख्या गरेका छन् ।
उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, ‘सार्वभौम जनताको प्रतिनिधिसंस्था संघीय संसद्ले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लंघन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो । सचेत रहौं र संयमित बनौं । यो घटनाक्रम निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो ।’
यसअघि संविधानविद्हरूसहित विभिन्न राजनीतिक दलका नेताहरूले पनि राष्ट्रपति भण्डारीको कदमको विरोध जनाएका छन् । राष्ट्रपति भण्डारीले संसद्बाट पास भइसकेको नागरिकता विधेयकलाई अन्तिम अवधि असोज ४ सोमबार रातिसम्म पनि प्रमाणीकरण नगरेपछि आलोचित बनेकी छन् ।
प्रकाशित मिति २०७९ असोज १२ गते बुधबार १०:५४