१३ असोज, काठमाडौं ।
सत्तारुढ दलहरु गठबन्धन गरेर चुनाव लड्ने तयारी गरिरहँदा नेकपा एमालेले भने पार्टी प्रवेशलाई जोड दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा लगायतका दलसँग तालमेल गर्न तयार देखिएका एमाले नेताहरु समानुपातिकतर्फ (पपुलर भोट)
५० लाख कटाउने र प्रत्यक्षमा पनि बहुमत ल्याउने दाबी गर्ने गरेका छन् । एमाले सचिव योगेश भट्टराई भन्छन्– एमालेमा उत्साह घटेको छैन, बढेको छ । प्रवेश गर्नेहरू उत्साहित छन् । समाजवादीतिर लागेकाहरूसँग जिल्ला कमिटी नै मर्ज भइरहेको छ ।
वडा र गाउँपालिकामा हारेपछि पार्टीका सबैलाई जित्नुपर्छ भन्ने महसुस भएको उनको दाबी छ । भन्छन्, ‘सानो गल्तीले ठूलो नोक्सानी हुने बुझेका छन् । त्यो इख लिएर एमाले चुनावमा भाग लिंदैछ ।
प्रतिनिधिसभा विघटन अब चुनावको मुख्य एजेण्डा नै नबन्ने समेत उनको दाबी छ । विगतमा कांग्रेसले संसद विघटन गरेको र माओवादी नेतृत्वले संविधानसभा विघटन गराएको भन्दै भट्टराईले भने, ‘यो मुख्य एजेण्डा होइन । यदि यही एजेण्डा हो भने उहाँहरूलाई जनताले तिरस्कार गर्छन् ।’
प्रस्तुत छ, एमाले सचिव भट्टराईसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश
समानुपातिकतर्फको बन्दसूची तयार पार्न जस्तो मापदण्ड अपनाउनुभयो, यसबाट के सन्देश दिन खोज्नुभएको हो ?
संविधानमा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था छ । बढी मत पाउनेले जित्ने र अर्को समानुपातिक । देशको सामाजिक–ऐतिहासिकतालाई ध्यान दिएर नीति निर्माण गर्ने ठाउँमा सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व गराउन समानुपातिक व्यवस्था गरिएको हो ।
यसपटक हामीले समानुपातिकतर्फ नयाँ मापदण्ड बनायौं । पहिलो, २०६४ सालदेखियता समानुपातिकमा बसेकाहरूलाई नदोहोर्याउने । दोस्रो, स्थानीय चुनावमा उम्मेदवार भएका, तर पराजित भएका छन् भने पनि उनीहरूलाई नराख्ने । तेस्रो, अघिल्लो स्थानीय चुनावबाट जितेकालाई पनि नराख्ने । यसो गर्दा नयाँ अनुहार बढेको छ ।
समानुपातिक भनेको पार्टीले प्राप्त गर्ने उपलब्धि हो । यसमा व्यक्तिको पनि योगदान हुन्छ । तर मूलतः पार्टीले प्राप्त गरेको मत हो । यो सामूहिक उत्पादन हो । सामूहिक उत्पादन हो भने वितरण पनि न्यायोचित हुन्छ, समाजवाद भनेको त्यही हो । यस अर्थमा एमालेले उत्कृष्ट बन्दसूची तयार पारेको छ ।
तर अपवाद भन्ने नीति पनि लिनुभएको छ नि ?
अन्य पार्टीबाट प्रवेश गरेकाहरूका लागि मात्रै अपवाद हुने हो । प्रवेश गर्नासाथ लडेर जितिहाल्ने अवस्था नहुन सक्छ । किनकि एमालेभित्र आफैं पनि प्रतिस्पर्धा छ ।
पार्टीमा आउने, तर केही नपाउँदा प्रवेश गर्नेहरूमा ‘फ्रस्टेसन’ हुन्छ । त्यसो हुनाले प्रवेशलाई पनि पार्टीले उचित सम्मान गर्छ । एमालेमा प्रवेशको ढोका खुला छ, आइसकेपछि यहाँ प्राप्त उपलब्धिको हिस्सेदार उहाँहरू पनि हुनुहुन्छ ।
आउने चुनावमा संकट देखिएकाले यस्तो नीति लिइएको अर्थमा पनि त बुझ्न सकियो नि !
एकाध छोडेर पार्टीका सबै पदाधिकारी चुनाव लड्ने स्थिति देखिंदैछ । त्यसो हुँदा संसद्मा पदाधिकारीमध्ये ठूलो हिस्सा जितेर आउँछन् । फेरि नयाँ मान्छे उत्पादन गर्ने ठाउँ पनि हो, संसद् ।
अर्काे कुरा, भेट्रान नेताहरू राख्दैमा समानुपातिकमा धेरै मत आउने पनि होइन । तुलनात्मक कमजोर मान्छे राख्दैमा भोट घट्ने पनि होइन । समानुपातिक मत पार्टीको प्रभाव, एजेण्डा, कार्यकर्ता परिचालनमा भर पर्ने कुरा हो ।
युवा पंक्तिले स्वतन्त्र उठेर पनि चुनाव जित्न थालेपछि दबावमा परेको त होइन ?
२०५० सालसम्म एमाले युवाहरूकै पार्टी हो । ३७ वर्षमै मदन भण्डारी महासचिव हुनुभयो । उहाँको उमेर समूहका नेताहरू स्थायी कमिटीमा हुनुहुन्थ्यो । मदन भण्डारीको भावनाअनुसार खट्ने हामी त्यसबेला २० वर्षका थियौं । कार्यकर्ता २० वर्षका र नेता ३५/४० वर्षका ।
त्यसबेला माले भनेको केटाकेटी र ठेट्नाहरूको पार्टी पनि भनियो । परिपक्क मान्छे ल्याउनुपर्छ भनेर मनमोहन अधिकारीको समूहसँग एकता भयो । माले र मार्क्सवादीको एकीकरण पछि एमाले भयौं । यसले समाजमा र अन्तर्राष्ट्रिय जगतमा एमालेको विश्वसनीयता बढायो । युवा र परिपक्कहरूको टिमले एमाले विस्तार भयो ।
अहिले एमालेसँग तीन जेनेरेसन छन् । २७/२८ सालको झापा आन्दोलन, २०३६ सालको जनमत संग्रह र विद्यार्थी आन्दोलनबाट विकसित भएको पुस्ता । पार्टी केन्द्रीय कमिटीमा अहिले पार्टी अध्यक्षसहित अत्यधिक ठूलो हिस्सा त्यही पंक्तिका नेता हुनुहुन्छ ।
अर्को २०४६ सालपछि बहुदलीय कालमा विकसित भएको पंक्ति छ । त्यो पुस्ता अधिकांश जिल्ला नेतृत्वमा छ । तेस्रो, २०६२/६३ को आन्दोलन भएर विकसित भएको पुस्ता छ ।
त्यो पंक्ति जिल्ला, प्रदेश र केन्द्रीय कमिटीमा पुगिसकेको छ । यो तीनै जेनेरेसन सँगै लैजानुपर्नेछ । अघिल्लो पुस्तालाई सम्मानजनक ढंगले व्यवहार गर्नुपर्छ । बीचको पुस्ताले नेतृत्व गर्दै अगाडि बढ्नुपर्छ । पछिल्लो पुस्ता नेतृत्वको लागि तयारी अवस्थामा बस्नुपर्छ ।
पहिलो र दोस्रो पुस्ताले प्रत्यक्ष लड्ने अनि तेस्रो पुस्तालाई समानुपातिकमा अवसर दिने हो ?
प्रत्यक्षतर्फ पनि तेस्रो पुस्ताका नेताहरू पर्याप्त मात्रामा सिफारिस भएर आएका छन् । पालिका, जिल्ला कमिटी, प्रदेश कमिटीमा पनि तेस्रो पुस्ता आएको छ । अनेरास्ववियुका अध्यक्ष र युवा संघका अध्यक्ष केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।
केपी ओलीसँग युवा संघ र अखिलका अध्यक्ष एउटै कमिटीमा भाग लिन्छ भने उसले केही न केही त सिक्छ । बैठक चलाउन, एजेण्डा सम्बोधन, संकट व्यवस्थापन जस्ता सीप सिक्छ ।
एमालेले अहिले सार्वजनिक खपतका निम्ति मात्रै चुनाव जित्छौं भनेको हो कि आत्मविश्वास पनि छ ?
स्थानीय चुनावमा जुन तहको प्रतिकूलता थियो, आउने मंसिर ४ गतेको आमचुनाव त्यो तहको प्रतिकूल छैन । किनकि त्यसबेला एमालेले गठबन्धनसँग सामना नै गर्न सक्दैन भन्ने अवधारणा बनाइएको थियो । तर एमालेले सामना गर्यो ।
दोस्रो, स्थानीय चुनावमा पार्टीको आन्तरिक एकता सुदृढ भएन । पार्टीभित्र अन्तर्घात भयो । त्यसैले बितेका केही महिनायता अध्यक्षदेखि हामी सबैले एमालेले हार्नु मुलुकका निम्ति घाटा र नोक्सान हो भन्ने स्कुलिङ गरेका छौं । पार्टीभित्र उम्मेदवार छनोटमा पारदर्शिता अपनाइनेछ, न्यायोचित व्यवहार हुन्छ । तर कहिलेकाहीं व्यक्तिको मूल्यांकन सही नहुन पनि सक्छ । त्यस्तो अवस्थामा पनि ‘पार्टी फर्स्ट’ भन्ने स्कुलिङ गरिरहेका छौं ।
अन्तर्घात भएको स्थानीय चुनावमै पनि ३८ लाख मत ल्याएका छौं भने पार्टी एकताबद्ध भएर उभिएमा ७ लाख मत थपिन्छ । यो भनेको ४५ लाख पुग्छौं र अर्को ५ लाख भोट बढाउँछौं । यसरी ५० लाख भोटको लक्ष्य लिएर चुनावमा जाँदैछौं, त्यो आत्मविश्वास छ ।
न्यायोचित टिकट वितरण त तपाईंले भनेर मात्रै नहुने होला, अध्यक्षको प्रतिबद्धता चाहिने होला नि ?
अधिकांश ठाउँमा चुनाव लड्ने नेताबारे प्रष्ट बुझाइ छ । घोषणा केन्द्रले गर्छ, तर झण्डै ८०/९० ठाउँमा को उठ्छ भन्ने कुराको बुझाइ स्पष्ट छ । करिब ६० ठाउँमा सिफारिस नै एकल छ । ती ठाउँमा त उहाँ नै उठ्नुहुन्छ भन्ने स्वतः छ ।
अरू ४० ठाउँमा दुई/तीन वटा नाम आए पनि को उठ्छ भन्ने स्पष्ट छ । बाँकी ६५/७० सिट सहमतिमा टुंग्याउँछौं । बढीभन्दा बढी तलका सुझाव र सिफारिसलाई ध्यान दिन्छौं ।
तर एमालेमा आमअपेक्षा अनुसार होइन, केपी ओलीको चाहना अनुसार निर्णय हुन्छ भन्ने टिप्पणी छ नि ?
अध्यक्षले पनि बैठकमा पार्टीप्रति प्रतिबद्ध र लोकप्रियले टिकट पाउँछ भन्नुभएको छ । मुख्य मापदण्ड यही हो ।
लोकप्रिय पनि छ, जित्ने सुनिश्चितता छ र पार्टीप्रति इतिहास पनि छ भने पुरानो मान्छे प्राथमिकतामा पर्ने हुन्छ । तर युवा पुस्ता आएको छ र जित्ने सुनिश्चितता छ भने त्यो पुरानो जेनेरेसन भनेर हेर्दैनौं ।
किनकि हामीले केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेका छौं, उहाँ प्रधानमन्त्रीको उम्मेदवार हो । प्रधानमन्त्री हुने निश्चित गर्न संख्या चाहियो ।
यसको अर्थ प्रतिनिधिसभामा एमालेको एबीसीडी ओइन, बहुमत चाहिएको छ । १३८ प्लस चाहियो । यो कुरा अध्यक्षले बैठकमा पटक–पटक भन्नुभएको छ ।
केपी ओली परम्परागत गुट भन्दा बाहिर निस्केर एमालेका जित्ने व्यक्तिलाई टिकट दिन तयार हुनुहुन्छ त ?
एमालेमा केपी ओली बाहेकका मान्छे नै छैन । उहाँले पार्टीको सर्वत्र नेतृत्व गरिरहनुभएको छ भने उहाँलाई समर्थन गर्ने बाहेकका मान्छे नै एमालेमा छैन ।
प्रकाशित मिति २०७९ असोज १३ गते बिहिबार १२:४३