१९ मध्ये १५ जनाको प्रत्यक्ष टिकट पक्का गर्दै ओलीको प्रश्नः भीम रावल र घनश्याम भुसाल एमालेमै हो र ?

१९ मध्ये १५ जनाको प्रत्यक्ष टिकट पक्का गर्दै ओलीको प्रश्नः भीम रावल र घनश्याम भुसाल एमालेमै हो र ?

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १५ गते शनिवार ०१:१५

काठमाडौं । एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् । पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित १३ जना पदाधिकारीको उम्मेदवारी टुंगो लागेको छ । बिहीबार बालकोटमा मध्यरातसम्म बसेको सचिवालय बैठकले पदाधिकारीसहित...

काठमाडौं । एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् । पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित १३ जना पदाधिकारीको उम्मेदवारी टुंगो लागेको छ ।

बिहीबार बालकोटमा मध्यरातसम्म बसेको सचिवालय बैठकले पदाधिकारीसहित निर्वाचन क्षेत्रबाटै एकल सिफारिस भएर आएका उम्मेदवारको उम्मेदवारी टुंगो लगाएको हो । सचिवालय बैठकले नमिलेका क्षेत्रमा परामर्श लिएर गृहकार्य गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको छ ।

औपचारिक निर्णय भने दुई वा दुईभन्दा बढी सिफारिस भएका क्षेत्र र स्थानीयस्तरमा तालमेल हुने क्षेत्रको पहिचानसहित गृहकार्य पूरा गरेर मात्रै प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको नामावली एकमुस्ट सार्वजनिक गर्ने एमालेको नीति छ ।

उपाध्यक्षहरूमध्ये युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’ ले प्रत्यक्षमा चुनाव नलड्ने जानकारी गराएका छन् । ‘मैले प्रत्यक्षमा उम्मेदवारी नलड्ने जानकारी गराएको छु,’ दाङ–३ बाट सिफारिस उपाध्यक्ष ज्ञवालीले भने, ‘संसदबाहिर रहेर नीतिगत, वैचारिक र सांगठनिक रूपले योगदान गर्छु । नयाँलाई अवसर दिनुपर्छ भन्ने आफ्नो विचार राखेको छु ।

चुनाव खर्चिलो भएको र आफूसँग पैसा नभएको भन्दै अघिल्लो निर्वाचनमा ज्ञवाली पछि हटेका थिए । त्यस्तै, बैठकमा अर्का उपाध्यक्ष बादलले पनि प्रत्यक्ष चुनाव नलड्ने जानकारी गराएका थिए । तर, उनले समानुपातिक सूचीमा बस्ने मनसाय राखेनन् ।

बैठकमा काठमाडौं– ८ बाट चुनाव नलड्ने जानकारी गराएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई भने अध्यक्ष ओलीसहित अधिकांश नेताले निर्णय पुनर्विचार गर्न प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले तलबाट दुई–तीनजना आकांक्षी रहेकाले निर्णय लिन सहज बनाउन पनि शाक्य उम्मेदवार बन्नुपर्ने बताएका थिए । सो क्षेत्रमा राजेश शाक्य, डा। अजयक्रान्ति शाक्यलगायत प्रतिनिधिसभामा उम्मेदवार बन्न इच्छुक छन् ।

अघिल्लोपटक प्रदेशसभाबाट निर्वाचित शाक्यलाई यसपटक भने प्रतिनिधिसभामै उठ्न अधिकांश नेताले सुझाव दिएका छन् । तर, उपाध्यक्ष शाक्यले भने केही दिन सोचेर मात्र अन्तिम निर्णय जानकारी गराउने बताएकी छिन् ।

बैठकमा उपमहासचिव गुरुङले प्रदेशसभामै चुनाव लड्ने मनस्थितिमा रहेको जानकारी गराएका छन् । अर्का उपमहासचिव विष्णु रिमालले चुनाव नलड्ने जानकारी गराएका छन् । सचिवालयका सबै सदस्यले आ–आफ्ना धारणा राखिसकेपछि पदाधिकारीको उम्मेदवारी लगभग टुंगो लागेको एक पदाधिकारीले बताए ।

त्यस्तै, बैठकमा दशबुँदे सहमति गरेर एमालेमै रहेका नेतालाई लिखित आत्मालोचना गराएर मात्र टिकट दिने विषय आइरहेकोबारे बैठकमा प्रश्न उठेपछि अध्यक्ष ओलीले प्रस्टीकरण दिएका थिए ।

‘गठबन्धनभित्र विवाद भएपछि एमालेभित्र विवाद देखाउन सुनियोजित रूपमा बाहिर मिथ्या भ्रमपूर्ण सूचना प्रवाह गराइएको हो, त्यस्तो आत्मालोचना गराउने भन्ने केही पनि सोच छैन,’ ओलीको प्रस्टीकरण उद्धृत गर्दै एक पदाधिकारीले भने ।

यद्यपि, ओलीले नेताद्वय भीम रावल र घनश्याम भुसालका विषयमा भने खुलेरै धारणा राखेका थिए । रावल लामो समयदेखि आफ्नो सम्पर्कमा नरहेको, तर तलबाट एकल नाम सिफारिसमा आएकाले चुनाव लड्ने मनसाय हो–होइन, जित्ने अवस्था छ कि छैन आफ्नो औपचारिक जानकारीमा नरहेकाले ती सबै विषयमा प्रस्ट भएपछि मात्र निर्णय लिनु उपयुक्त हुने सोचमा आफू रहेको ओलीले प्रस्ट्याएका थिए । रावल अछाम– १ बाट एकल सिफारिस भएका छन् ।

यी हुन् एमालेका सर्वसम्मत सिफारिस ५७ उम्मेदवार
एमालेमा अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीसहित धेरैजसो पदाधिकारी क्षेत्रबाटै सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने लमजुङबाट प्रदेश निर्वाचन क्षेत्र ‘ख’बाट गण्डकी प्रदेशका लागि सिफारिस भएका छन् ।

प्रदेश १ मा झापा– रविन कोइराला, ५ बाट केपी ओली, इलाम १ बाट महेश बस्नेत, २ बाट सुवास नेम्वाङ सर्वसम्मत सिफारिस भएका छन् ।

मोरङ २ बाट ऋषिकेश पोखरेल, मोरङ ३ बाट भानुभक्त ढकाल, ४ बाट विनोद ढकाल, सुनसरी १ बाट जयकुमार राई, ३ बाट भगवती चौधरी, धनकुटाबाट राजेन्द्र राई, सोलुखम्बुबाट मानवीर राईको नाम एकल सिफारिस भएको छ ।

मधेस प्रदेशमा पर्सा ३ बाट राजकुमार गुप्ता, बारा २ बाट बलवीर चौधरी, ४ बाट देवनारायण चौधरी सर्वसम्मत सिफारिस भएका छन् । रौतहट ३ बाट प्रभु साह, सर्लाही २ बाट राजनारायण साह, धनुषा ३ बाट जुली महतो, ४ बाट रघुवीर महासेठ, सिराहा ३ बाट लीलानाथ श्रेष्ठ, महोत्तरी ४ बाट दीपनारायण यादवको नाम एकल सिफारिस भएको छ ।

बागमती प्रदेशमा काभ्रे २ बाट गोकुल बास्कोटा, काठमाडौं २ बाट मणिराम फँुयाल, ३ बाट कृष्ण राई, ४ बाट राजन भट्टराई, ५ बाट ईश्वर पोखरेल सर्वसम्मत सिफारिस भएका छन् ।

नुवाकोट १ बाट बद्री मैनाली, चितवन ३ बाट रामप्रसाद न्यौपानेको नाम एकल सिफारिस भएको छ  । त्यस्तै गण्डकी प्रदेशबाट नवलपुर २ बाट तिलकबहादुर महत, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, मनाङबाट पाल्देन छोपाङ गुरुङको नाम एकल सिफारिसमा आएको छ  ।

लुम्बिनीमा पाल्पा २ बाट ठाकुर गैरे, गुल्मी १ बाट प्रदीप ज्ञवाली, अर्घाखाँची– टोपबहादुर रायमाझी, प्यूठान– सूर्य थापा, दाङ २ बाट शंकर पोखरेल, कपिलवस्तु २ बाट बृजेशकुमार गुप्ता, कपिलवस्तु ३ बाट मंगलप्रसाद गुप्ता, रूपन्देही १ बाट छविलाल विश्वकर्मा, रूपन्देही २ बाट विष्णुप्रसाद पौडेल, रूपन्देही ४ बाट कृष्णप्रसाद भुसाल, रूपन्देही ५ बाट खिमलाल भट्टराई, रोल्पाबाट पूर्ण बुढामगरको उम्मेदवारी निर्वाचन क्षेत्रबाटै सर्वसम्मत सिफारिस भएको छ ।कर्णालीको डोल्पामा बम्दी क्वाँरा बोहरा, हुम्लामा दल रावल, मुगुमा मोहन बानियाँ, जुम्लामा रतननाथ योगी, कालिकोट नागिन्द्र शाही र सल्यानबाट गुलाबजंग शाहको नाम सर्वसम्मत सिफारिस भएको छ ।

सुदूरपश्चिम प्रदेशमा दार्चुलाबाट गणेश ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, डेडल्धुराबाट पठानसिंह बोहरा, डोटीबाट चक्र मल्ल, अछाम १ बाट भीम रावल, अछाम २ बाट यज्ञराज बोगटी, कैलाली ३ बाट गौरीशंकर चौधरी, कैलाली ४ बाट लेखराज भट्ट, कैलाली ५ बाट नारदमुनि रानाको नाम एकल सिफारिस भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति २०७९ असोज १५ गते शनिवार ०१:१५
प्रतिक्रियाहरु