संकटमा गठबन्धन, बाहिरिने भयो यी दुई दल

संकटमा गठबन्धन, बाहिरिने भयो यी दुई दल

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १६ गते आईतबार ११:२७

कांग्रेसबाहेकका गठबन्धनका अन्य दलले आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभाको सिट बाँडफाँटका लागि टुङ्गो लगाउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । तर‚ कांग्रेस भने आन्तरिक विवादलाई देखाउँदै बाँडफाँटलाई अन्तिम समयसम्म लैजाने र गठबन्धनका...

कांग्रेसबाहेकका गठबन्धनका अन्य दलले आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभाको सिट बाँडफाँटका लागि टुङ्गो लगाउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् ।

तर‚ कांग्रेस भने आन्तरिक विवादलाई देखाउँदै बाँडफाँटलाई अन्तिम समयसम्म लैजाने र गठबन्धनका अन्य दललाई थोरै सिट दिँदा हुने परिस्थिति निर्माण गर्न चाहेको अन्य दलहरूको आरोप छ ।

कांग्रेसभित्रै शेखर कोइराला‚ गगन थापा समूह गठबन्धनका अन्य दलहरूका साथै इतर रहेको आफ्नो समूहलाई कम स्थानमात्रै दिन खोजेको भनेर असन्तुष्टि जनाउँदै आएका छन् । सिटौलाको प्रस्तावपछि जसपा सबैभन्दा बढी असन्तुष्ट देखिएको छ ।

यसैबीच जसपाले गठबन्धनभित्र सन्तोषजनक अवस्था नदेखिएको भन्दै अन्य दलहरूसँग पनि तालमेल गर्न सकिने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा सिट विषय निष्कर्षमा पुग्न नसकेको अवस्थामा जसपाको यस्तो चेतावनी आएको हो । गठबन्धनमा जसपाले प्रतिनिधिसभामा २० स्थानभन्दा बढी सिट दाबी गर्दै आएको छ ।

गठबन्धन भागबन्डा १२ देखि १३ स्थानमा मात्रै दिन सकिने सिटौलाको प्रस्तावमा रहेको छ । जसपाले एक्लै चुनाव लड्दा पनि कम्तीमा ९ स्थान जित्न सकिने भन्दै आफ्नो शक्तिलाई कम आँकेमा गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएको छ । अर्कोतर्फ एकीकृत समाजवादी पनि सिटौलाको पछिल्लो प्रस्तावमा असन्तुष्ट रहँदै आएको छ ।

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले भदौदेखि हरेक बैठक निर्णायक भन्दै बस्ने गरे पनि परिणाम आउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

'आज अन्तिम बैठक भन्दै हामी भदौदेखि बस्दै आएका छौं तर कुनै निष्कर्षमा पुगिसकेका छैनौं‚' नेपालले भने, 'कहिले टुङ्गिन्छ भन्न सकिँदैन ।' गठबन्धनमा एकीकृत समाजवादीलाई १७ देखि १८ सिट दिने विषयमा छलफल भएको छ । सो दलको दाबी भने ३० स्थानमा रहेको छ ।

कांग्रेसभित्र भने गठबन्धन हुँदा कम स्थानमात्रै हात पर्ने भन्दै एक्लै चुनावमा जान देउवा इतर पक्षले दबाब दिँदै आएको छ । कांग्रेसले गठबन्धनमा भागबन्डा हुँदा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १ सय ६५ सिटमध्ये ८० देखि ८५ सम्म स्थान गर्ने सम्भावना छ ।

गठबन्धनभित्र मधेसमा सिट बाँडफाँटको विषय गाँठो परेको छ । मधेसका कतिपय स्थानमा गठबन्धनको ४ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जपसाको दाबी रहेको छ ।

गठबन्धनको अर्को दल माओवादी केन्द्रमा भने सिटौलाको प्रस्तावमा सकारात्मक देखिएको छ‚ जसमा माओवादीलाई अहिले भैरहेको छलफलभन्दा केही फाइदा हुने देखिएको छ । सिटौलाको प्रस्तावमा माओवादी केन्द्रले ४५ देखि ५० स्थान प्राप्त गर्ने छ ।

प्रकाशित मिति २०७९ असोज १६ गते आईतबार ११:२७
प्रतिक्रियाहरु