काठमाडौं : नेपाली कांग्रेसको शेखर कोइराला समूहले संस्थापन पक्षले आफूहरुलाई सम्मानजनक सिट नदिए आगामी निर्वाचनमा पार्टीको मतमा नै प्रभाव पर्न सक्ने चेतावनी दिएको छ ।
बिहीबार काठमाडौंमा बसेको सो समूहको भेलाले आवश्यकता र औचित्यका आधारमा गुट, उपगुट नभनेर समान ढंगले टिकट दिनुपर्ने भन्दै त्यसो नगरिए आगामी निर्वाचनमा पार्टीको मतमा नै प्रभाव पर्न सक्ने चेतावनी दिएको हो ।
साथै उनीहरुले संस्थापन पक्षले एकलौटी रुपमा निर्णय गरे कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने समेत जनाएका छन् । भेलापछि कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीले न्याय र समान अवसरका लागि पार्टीभित्रैबाट खवरदारी गरिरहदा त्यसलाई उचित ढंगले निकास दिनुपर्ने बताए ।
आगामी निर्वाचनमा बिजयी हाँसिल गर्नका लागि अन्य पार्टीसंग गठबन्धन गरिरहदा आफ्नै पार्टीभित्र पनि गठबन्धन गरि एकढिक्का गर्नुपर्ने उनको भनाइ छ ।
उनले सामानुपातिक सूचीमा पनि असन्तुष्टीको स्वरहरु आइरहदा संस्थापन पक्षले समाधान दिन नसकेको अवस्थामा प्रत्यक्षतर्फ टिकट वितरण गर्दा काखापाखा गर्न नहुने जिकिर गरे। यदि पार्टीले पुन अन्याय गरि टिकट वितरण गरे निर्वाचनको परिणाम आउन नसक्ने उनले बताए।

संस्थापन पक्ष गम्भीर बनेर पार्टीभित्र विद्रोह गर्न नदिने अवस्था सिर्जना गर्नुपर्ने उनीहरुले बताएका छन् । यसअघिको महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गरेकै कारण पार्टी नेतृत्वले आफूहरुमाथि भेदभाव गरेको उनीहरुको आरोप छ ।
प्रकाशित मिति २०७९ असोज २० गते बिहिबार ०५:४६