कामठाडाैँ । नेकपा एमाले र जनता समाजवादी पार्टी बीच चुनावी तालमेलका लागि भएको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका छन् । दुवै पार्टीका नेताहरुका अनुसार आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ ।
प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय नजिकिदै गर्दा जसपाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवैसँग चुनावी तालमेलका लागि दोहोरो संवाद सुरु गरेको थियो । सत्ता गठबन्धनमा १६ सिट पाएको जसपाले त्यसमा चित्त नबुझाएपछि एमालेसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाएको हो । बिहीबार साँझ नेकपा एमालेका शीर्ष नेता र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा चुनावी तालमेलका लागि दुवै पक्ष सकारात्मक भएको नेताहरुको भनाइ छ ।
बिहीबार एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलबारे लामो छलफल भएको थियो । एमाले नेता रघुवीर महासेठको नीजि निवास भैंसेपाटीमा करिव ४ घण्टा भएको छलफलमा जसपा अध्यक्ष यादवले प्रतिनिधि सभाका २५ सिटमा एमालेले सघाउनु पर्ने प्रस्ताव राखेका थिए । त्यसमा एमालेले २० देखि २१ सिटमात्र दिन सकिने अडान राखेपछि सहमति पत्रमा हस्ताक्षर हुन नसकेको बताइएको छ ।
नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्न आज शुक्रबार दुई दलका शीर्ष नेताबीच छलफल हुने भएको छ । छलफलका लागि अध्यक्ष ओलीले दिउँसो १ बजे समय दिएको राप्रपाका नेताहरूले बताएका छन् ।
राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले दिउँसो १ बजे वार्ताको समय मिलाएको र आफूहरू ओली निवास बालकोट जाने तयारीमा रहेको बताए । ‘आज १ बजे वार्ता हुँदैछ । त्यसका लागि अध्यक्षसहित हामी बालकोट जाँदैछौँ’, उपाध्यक्ष तामाङले भने, ‘कति सिट र कहाँ कहाँ तालमेल गर्ने भन्ने वार्तापछि टुङ्गो लाग्छ ।
एमालेले आजै जसपासँग पनि चुनावी तालमेलको लिखित सहमति गर्दैछ । ‘एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने पक्का छ । त्यसका लागि दुवै दलसँग आज सहमति गर्ने तयारी छ’, एमालेका एक शीर्ष नेताले भने, ‘जसपा र राप्रपाबाहेकका अन्य शक्तिहरूसँग पनि कुरा भइरहेको छ ।
प्रकाशित मिति २०७९ असोज २१ गते शुक्रबार १२:१८