सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी उम्मेदवारप्रति असन्तुष्ट कास्कीका ३७ जना नेता/कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
कास्की–३ प्रदेशसभा ‘क’ का नेता दुर्गादत्त भण्डारीलाई प्रदेशसभा ‘ख’ बाट उम्मेदवार उठाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा पत्रमा उनीहरूले पार्टीको प्रदेश कमिटी र जिल्ला समन्वय कमिटीले सिफारिस गरेको भन्दा बाहिरबाट उम्मेदवार उठाएका कारण राजीनामा दिनुपरेको उल्लेख गरेका छन्।
राजीनामा दिनेहरूमा माओवादी गण्डकी प्रदेश कमिटी सदस्यहरु नवराज भण्डारी, भोजराज पौडेल, पोखरा महानगर कमिटी उपाध्यक्ष भानुभक्त अधिकारी, माछापुच्छ्रे गाउँपालिका कमिटी उपाध्यक्ष गोपाल पोखरेललगायत छन्।
नेकपा एमालेका नेता प्रभु साहले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट उनले टिकट पाए पनि सो क्षेत्रबाट पूर्वमन्त्री साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
साहले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई पार्टीले मूल्यांकन नगरेको भन्दै असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
स्वतन्त्र उम्मेदवार दिएर आफूले ठूलो जोखिम लिए पनि आफूले जनताले चाहेको गर्न लागेको बताए।
‘जायज कामका लागि स्वतन्त्र उम्मेदवारी दिएर मैले ठूलो जोखिम मोलेको छु’, उम्मेदवारी दिने क्रममा उनले भने, ‘जनताले के चाहेका छन् भनेर हामीले टेस्ट गर्न चाहेका छौँ। रौतहटको तागत के हो चुनावमै थाहा हुन्छ।’
उनले आफूलाई सत्ताका लागि मरिहत्ते गर्ने पार्टीको टिकट नचाहिने बताए। ‘मलाई सत्ताका लागि केही गर्न तयार हुने पार्टीको टिकट चाहिएन, उनले भने, ‘पार्टीले दिएको टिकट यहीँ राखेको छौं। हामीले एक भएर स्वतन्त्र उम्मेदवारी दियौँ।’
जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए।
प्रकाशित मिति २०७९ असोज २४ गते सोमबार ०८:३२