काठमाडौं-: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त देशको रूपमा नेपाललाई विश्वमा परिचित गराउने बताएका छन्।
त्यसका लागि धाकधम्कीमा नरही निर्भयका साथ प्रभावकारी र सक्षम ढङ्गले काम गर्न प्रधानमन्त्री ओलीले आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई आग्रह गरे।
आयोगको ३०औं स्थापना दिवसको अवसरमा बोल्दै उनले संविधान, कानुन, देश र जनतालाई शिरमा राखेर स्वतन्त्र ढंगले भ्रष्टाचार नियन्त्रण गर्दै पारदर्शी सरकार बनाउनेतर्फ केन्द्रित हुन पनि आग्रह गरेका छन्।
यसो गर्नुहोस्, उसो गर्नुहोस् भन्ने होइन, स्वतन्त्र ढंगले आयोगले काम गर्नुपर्छ, कतिपय मानिसहरूमा भ्रम छ, आयोग सरकारको लाचार छायाँ होइन र यो सरकार कुनै पनि नियकालाई स्वतन्त्र ढंगले काम गर्न दिन्छ, प्रधानमन्त्री ओलीले भने।
उनले आयोगलाई सरकारले हस्तक्षेप नगर्ने पनि बताए। अपवादमा मात्रै केही कर्मचारी भ्रष्टाचारमा संलग्न भएको हुनसक्ने प्रधानमन्त्रीको भनाइ छ।अब सार्वजनिक निकायको काम अनलाइनबाटै हुने र नागरिक एपबाटै काम हुन थालेपछि भ्रष्टाचार न्यूनीकरणमा मद्दत पुग्ने बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बोलाएको छ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताए।
‘हामीले उहाँलाई बिहीबार बिहान १० बजे आउन भनेका छौं,’ थापाले भने।यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।
उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो।
‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।
झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो।
झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन्।बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्।
मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्- बोल्न पाइन्छ।प्रहरीले बोलाएकोबारे भने उनले जानकारी नभएको बताइन्। ‘मलाई अहिलेसम्म प्रहरीबाट खबर आएको छैन। आएछ भने म जान्छु,’ उनले भनिन्।
प्रकाशित मिति २०७७ माघ २९ गते बिहिबार १२:०४