काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको अभियोग लगाउने किशोरीको आफ्नै घर, परिवार हुँदा हुँदै उनी किन माइती नेपालको संरक्षणमा छिन् ? कतै माइती नेपाल समेत सन्दीपविरुद्ध उभिएको त होइन ? यस प्रकारका प्रश्न अहिले उब्जेका छन् । उब्जेका यस्ता प्रश्नको जवाफ खोज्दै आज हामी माइती नेपालकै कार्यालयमा पुगेका छौं ।
माइती नेपाल पुगेपछि किशोरीले माइती नेपालको आश्रय लिनुको रहस्य पनि खुलेको छ । खासमा पीडित किशोरीका आमा र बाबुबीच पहिले नै सम्बन्ध विच्छेद भइसकेको रहेछ । दुवैले दोस्रो विवाह पनि गरेका रहेछन् । आमा र बाबुकै सल्लाहमा उनी माइती नेपालमा बस्दै आएकी रहिछन् । यो सहित माइती नेपालमा भएको प्रदर्शनसम्मका विषयवस्तु र खुलेका अन्य रहस्यहरु सिधा कुराले प्रस्तुत गरेको छ ।
नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
तर, अनुसन्धान चलिरहेकै बेला बलात्कारको आरोप लगाउने ‘नाबालिगलाई सार्वजनिक गर’ भन्दै केही फिल्म अभिनेता, वकिल, कथित अभियान्ता र आफुलाई नेता हुँ भन्नेहरुले नाराबाजि गर्न थालेका छन् । हाल माइती नेपालको संरक्षणमा रहेकी किशोरीलाई सार्वजनिक गर भन्दै चारैतिर क्यामेरामा घेरिएर माइती नेपालको कार्यालयमा धर्ना दिन थालेका छन् ।
केही दिन अघि एक सञ्चार माध्यममा पीडित किशोरीको इच्छाविपरीत माइती नेपालले उनलाई कब्जामा राखेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि युट्युबरकाे जमात बोकेर कलाकार जय किशन बस्नेत, अधिवक्ता यज्ञमणी न्यौपाने, पुण्य गौतमलगायतका व्यक्तिहरु पीडित किशोरीलाई सार्वजनिक गर भन्दै माइती नेपाल घेराउ गर्न पुगेका हुन् ।
कानूनी व्यवस्थाअनुसार पनि यौनजन्य अपराधमा जाहेरी दिनेको पहिचान गोप्य राख्नुपर्ने हुन्छ । तर, बालिका बलात्कार जस्तो गम्भीर मामिलामा पीडितलाई सार्वजनिक गर भन्दै नाराबाजी तथा हुलहुज्जत भएको छ । यसरी हुलहुज्जत तथा नारा लगाउनेहरुलाई पीडितको गोपनियताको हक सम्बन्धी हेक्का छ कि छैन ? भन्ने प्रश्न उठ्न थालेको छ ।
यद्यपी पीडित किशोरीलाई कब्जामा राखेको भन्ने विषयमा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कार्यक्रम सिधा कुरा जनतासँगमार्फत खण्डन गरिसकेकी छिन् । समाचारमा आएको विषयमा सत्यता नभएको र प्रहरीले नै किशोरीको संरक्षणका माइती नेपालको जिम्मा लगाएको उनले बताएकी थिइन् ।
हामीले अध्यक्ष कोइरालासँग कुराकानी गरेपछि धेरै दर्शकहरुले माइती नेपालको कार्यालयमै गएर पीडित किशोरीको अवस्था बुझ्न अनुरोध गर्नुभएको थियो । मंलगबार हाम्रो टिम किशोरीको अवस्था बुझ्न गौशालास्थित माइती नेपालको कार्यालयमै पुग्यो । र, माइती नेपालका उप–निर्देशक अच्युत नेपालसँग भेट्यौँ । उप–निर्देशक नेपालले क्यामेरामा नबोल्ने बताएपछि हामीले उनीसँग किशोरीको अवस्था बारे अनौपचारिक रुपमा जानकारी लियौँ ।
माइती नेपालमा किशोरी कुन अवस्थामा छिन् त ?
किशोरीलाई आफुहरुले नियन्त्रणमा नभई संरक्षणमा राखेको उप–निर्देशक नेपाल पनि दोहे¥याउँछन् । उनका अनुसार किशोरी आफ्नै राजीखुसीले माइती नेपालको संरक्षणमा बसिरहेकी छिन् । उनको आत्मवल पनि निकै बलियो छ । पढाईमा समेत उनी निकै अब्बल रहेको बुझिएको छ । अहिले कलेज बिदा भएकाले माइती नेपालले उनलाई अध्ययनका लागि ल्यापटप दिएको छ । उनी प्रायः अध्ययनमै व्यस्त हुन्छिन् । उनले भागवत गीता समेत पढिसकिन् । उनी सामाजिक सञ्जालबाट टाढा छिन् । आफ्ना सामाजिक सञ्जालका अकाउन्टहरु डिएक्टिभ गरेर उनी कानुनी लडाईका लागि तयार भएकी छिन् ।
माइती नेपाल बसेदेखि दशैमा एक पटक मात्रै आफ्ना बाबुसँग भेट गरिन् । त्यो पनि प्रहरीको उपस्थितिमा । किशोरीका बाबु र आमा बीच सम्बन्ध विच्छेद भएको छ । दुवैले दोस्रो बिहे गरेर आ आफ्नो नयाँ परिवार बसाएका छन् । यद्यपि, किशोरीको सम्बन्ध आफ्ना बाबु र आमासँग राम्रै छ । फोनमार्फत उनी आफ्नो परिवारसँग नियमित सम्पर्कमा छिन् । परिवारको मञ्जुरीमै उनी माइती नेपालको संरक्षणमा रहेको उप–निर्देशक नेपाल बताउँछन् ।
मानव अधिकार आयोगको चासो
पीडित किशोरी माइती नेपालको कब्जामा भन्ने समाचार आएपछि राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो दिएको छ । आइतबार मानव अधिकारको टोलिले किशोरीसँग भेट गरेको छ । कार्यक्रम सिधा कुरा जनतासँग राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोख्रेलले आयोगको टोली माइती नेपाल पुगेको तर, बाहिर समाचारमा आएजसरी माइती नेपालले पीडितलाई कब्जामा राखेको भन्ने आधार नभेटिएको बताए ।
उनले भने, ‘पीडितलाई कब्जामा राखिएको भन्ने कुराचाहिँ हामीले बुझ्यौँ । यद्यपि, पीडितसँग आयोगको टोलीले भेटेर कुरा गरेको छ । र, प्रहरीले नै माइती नेपालमा राख्न पठाएको भन्ने पाइएको छ ।’
यस विषयमा निरन्तर अनुसन्धान गरिरहेको र पीडितको आमाबुवासँग पनि थप कुरा बुझ्न सम्पर्क गर्दा सम्पर्क नभएको प्रवक्ता पोख्रेलले जानकारी दिए । उनका अनुसार पीडितका आमाबुवा काठमाडौंबाहिर रहेकाले भेट भएको छैन तर पीडितको आमाबुवासँग भेटेर थप कुराकानी गर्नेछौँ ।
यता, प्रहरी बृत गौशालाको हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ । सन्दीपले आफु निर्दोष रहेको दाबी गर्दै आएका छन् । उनले आफुमाथि आरोप लगाउनेकै आग्रहमा होटलमा बसेको बताउदैँ आएका छन् । क्रिकेटमै संलग्न व्यक्तिहरुले पनि आफुविरुद्धको योजना बनाएको दाबी गर्दै आएका छन् । उनका कानुन व्यावसायीले पनि योजनाबद्ध तरिकाले फसाइएको जिकिर गर्दै आएका छन् ।
पीडित भनिएकी किशोरी नाबालिग नभएको जिकिरसमेत गर्दै आएका छन् । गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते काठमाडौँको एक होटेलमा एक नाबालिगमाथि पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
प्रकाशित मिति २०७९ असोज ३१ गते सोमबार ०४:२०