उनले बताए ‘कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मकरुपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई–कमर्श, अनलाइन सपिङ, डिजटिल बैंकिग र ई–लर्निंग लगायत डिजिटल उपचार, व्यवसाय र क्रियाकलापहरु नेपालका शहरी क्षेत्रहरूमा मात्र होइन, धेरै स्थानमा आम जीवनको अंग बनेका छन् ।’
ब्रोडब्याण्डमात्र होइन, मोबाइलमार्फत समेत इन्टरनेट प्रयोगकर्ता बढिरहेका कारण डिजिटल प्रणालीमैत्री वातावरणलाई सहज भइरहेको समेत प्रधानमन्त्रीले बताए ।’सरकारले मालपोत, विद्युत महशुल, आन्तरिक राजस्व, भन्सार महशुल, सवारी चालक अनुमतिपत्र र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया शुरू गरिसकेको छ ।
सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी कामसमेत अगाडी बढाएको छ । साथै सूचना प्रविधिको विस्तारका लागि सबै प्रदेशमा अप्टिकल फाइबर विस्तार, प्रत्येक स्थानीय तहमा इन्टरनेटको पहुँच विस्तारजस्ता सूचना प्रविधिका आधारशीला खडा गर्ने काम पनि भइरहेको छ ।













