सुरक्षित क्षेत्र खोज्दै चितवनबाट गोरखा पुगेका प्रचण्डलाई अब्दुसले रोक्न सक्ने, बाहिरियो यस्तो हिसाबकिताब

सुरक्षित क्षेत्र खोज्दै चितवनबाट गोरखा पुगेका प्रचण्डलाई अब्दुसले रोक्न सक्ने, बाहिरियो यस्तो हिसाबकिताब

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ५ गते शनिवार ०८:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन छाडेर गोरखा पुगेका छन् । ०७४ मा चितवन–३ बाट जितेका प्रचण्डले यो पटक पनि सोही निर्वाचन क्षेत्र रोज्न खोजेका थिए । भरतपुर महानगरपालिका मेयरमा छोरी रेणु...

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन छाडेर गोरखा पुगेका छन् । ०७४ मा चितवन–३ बाट जितेका प्रचण्डले यो पटक पनि सोही निर्वाचन क्षेत्र रोज्न खोजेका थिए । भरतपुर महानगरपालिका मेयरमा छोरी रेणु दाहाललाई दोस्रो पटक विजयी बनाउन सफल भएका प्रचण्डले ४ मंसिरको निर्वाचनको पूर्वसन्ध्यामा चिवतनमा घर पनि बनाए ।

तर, उनले अन्तिम समयमा आएर मैदान छोडे, गोरखातिर लागे । कारण, चितवन उनका लागि असुरक्षित बन्दै गएकाे थियाे। उनका पूर्वप्रतिस्पर्धीसमेत रहेका राप्रपा नेता विक्रम पाण्डेलाई एमालेकाे साथ भएपछि पनि प्रचण्ड झस्किएका हुन् ।

गोरखा–२ मा पुग्दा भने एमालेका युवा उम्मेदवार अब्दुस मियाँ प्रचण्डका प्रतिस्पर्धी भएका छन् । तर, गोरखामा एमालेको पकड कम छ । प्रचण्डलाई गोरखा-२ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले छाडेका हुन् । बाबुराम गोरखा-२ बाट चुनाव लड्दै आएकोमा यसपटक उम्मेदवार छैनन् । बरु काठमाडौं-६ मा छोरी मानुषी यमी भट्टराईलाई गठबन्धनबाट उम्मेदवार बनाएका छन् ।

गोरखा–२ मा प्रचण्डले उम्मेदवारी दिनु अघिसम्म भट्टराई र नारायणकाजी श्रेष्ठमध्ये को उम्मेदवार बन्ला भन्ने चासो थियो । तर अन्तत: प्रचण्ड चितवनबाट सुरक्षित निर्वाचन क्षेत्र खोज्दै गोरखा–२ पुगेका थिए ।

चितवनको तीनवटा क्षेत्रमध्ये १ र २ मा कांग्रेस र क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले पाएका छन् ।

प्रचण्डका लागि कति सहज ?

गोरखा माओवादी, कांग्रेस र बाबुराम भटटराईको प्रभाव क्षेत्र हो । यहाँ एमाले भने कमजोर छ । आगामी मंसिर ४ मा हुने चुनावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको गठबन्धन छ, गोरखामा ।

गठबन्धनका साझा उम्मेदवार रहेकाले प्रचण्डलाई सहज हुने ठानिएको छ । प्रचण्ड पनि नयाँ रेकर्ड कायम गर्ने बताउँदै आएका छन् । ०७४ को प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्ड चितवन ३ बाट ४८ हजार २७६ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए ।

गत स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धन निकट दलहरूले यहाँ झण्डै ५२ हजार मत पाउँदा नेकपा एमालेले ६ हजार ५ सय मत पाएको थियो ।

को हुन् अब्दुस मियाँ ?
एमालेमा प्रवेश गर्नुअघि अब्दुसले काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । उनी कुनै बेला एमाले अध्यक्ष केपी ओलीका कटू आलोचक पनि थिए ।
तर, प्रतिनिधिसभा निर्वाचनमा एमालेले टिकट दिने भएपछि उनी पार्टी प्रवेश गरे । एमालेले उनलाई गोरखा-२ बाट टिकट पनि दियो ।

एमाले प्रवेश गर्नुअघि स्वतन्त्र रहेका उनी त्यसअघि विवेकशील साझा पार्टीमा थिए ।

अब्दुस वैकल्पिक राजनीतिले खेप्नुपरेको आरोह–अवरोहका कारण आमनागरिकसमक्ष गरेका प्रतिबद्धता पूरा गर्न नसकेकाले एमालेबाट प्रतिनिधिसभाको चुनाव लड्न लागेको बताए । उनी ५ वर्षदेखि वैकल्पिक राजनीतिक अभियानमा सक्रिय थिए ।

गोरखा-२ मा विभिन्न दल र स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी छ । राप्रपाका सुशील पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेस बीपीबाट टीकादत्त पोखरेललगायत चुनावी प्रतिष्पर्धामा छन् ।

प्रकाशित मिति २०७९ कार्तिक ५ गते शनिवार ०८:३४
प्रतिक्रियाहरु