काठमाडौँ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँगको चुनावी तालमेल राष्ट्रिय हितका लागि भएको दाबी गरेका छन् । झापा निर्वाचन क्षेत्र नं ३ मा एमाले र राप्रपाका कार्यकर्ताहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राप्रपासँग मिल्नसक्ने ठाउँमा तालमेल भएको बताए ।
‘यो सहकार्य राष्ट्रिय हितको पक्षमा रहेको छ । मैले प्रचण्डलाई पनि लिएको थिएँ । तर ड्रमका ड्रम पानी सकिए, डल्लाका डल्ला साबुन सकिए । जति धोयो, जति पखाल्यो जस्ताको त्यस्तै
ओलीले भने, ‘माधवकुमार नेपाल र झलनाथ खनाललाई दशकौं साथमा लिएर हिडेँ । प्रचण्डलाई मिलाएर हेरेँ तर देशको हितमा कहिल्यै पनि काम गरेनन् ।
अध्यक्ष ओलीले एमसीसी र एसपीपीको सन्दर्भ स्मरण गराउँदै सत्ता गठबन्धन दलका नेताहरू सत्ता बचाउनका लागि जे पनि बेचिदिन्छु भन्नेहरु भएको आरोप लगाए । यस क्रममा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राप्रपाका उम्मेदवारको पक्षमा पनि मत मागेका थिए ।
झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल रहेको छ । राप्रपाको भागमा एउटा र बाँकी चारमा एमालेका उम्मेदवार रहेका छन् । जसमा झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी रहेको छ । झापा ५ बाट अध्यक्ष ओली उम्मेदवार रहेका छन् ।
यस्तै उनले नेपालबाट धेरै प्रधानमन्त्री भारत गए पनि आफू जाँदा जस्तो चर्चा नभएको पनि दाबी गरेका थिए । ‘धेरै प्रधानमन्त्री नेपालबाट भारत गए होलान्, केपी ओली प्रधानमन्त्री भएर भारत जाँदा जस्तो नेपालमा, भारतमा जताततै खैलाबैला भएको जस्तो के हुन्छ भनेर
दुनियाँको आँखा पनि थियो । छिमेक भ्रमण विदेश भ्रमण यस्तो हुन्छ त्यो नजिर त्यस समयमा बनेको थियो,’ ओलीले भने, ‘अरु त कति बेला उङ्छ कति बेला निदाउँछ के गर्छ थाहा नै हुँदैन । अर्को देशको प्रधानमन्त्रीसँग बसेको छ । देशको इज्जत जोगाउनु पर्छ कति खेर थाहा छैन ।
यसैबीच अध्यक्ष ओलीले राप्रपा पनि एमालेसँग सहकार्य गरेकाले आगामी निर्वाचनपछि राष्ट्रिय पार्टी बन्ने दाबी गरेका थिए । तर एमालेले भने एक्लैले वहुमत ल्याउने उनको दाबी थियो । साथै आगामी निर्वाचनपछि एमालेले राप्रपासहितको सरकार बनाउने उनले बताएका थिए ।
प्रकाशित मिति २०७९ कार्तिक ११ गते शुक्रबार ०५:१५