मतगणना नसकिएसम्म मदिरा बिक्री वितरणमा रोक

मतगणना नसकिएसम्म मदिरा बिक्री वितरणमा रोक

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर १ गते बिहिबार ०२:४९

निर्वाचनको मौन अवधिदेखि मत गणना नसकिएसम्म मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई मर्यादित बनाउन मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको...

निर्वाचनको मौन अवधिदेखि मत गणना नसकिएसम्म मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई मर्यादित बनाउन मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको बताए ।

मदिरा बिक्री वितरण र सेवन कार्यलाई पूर्ण रुपमा निषेध गर्न जिल्ला आचारसंहिता र स्थानीय सुरक्षा समितिलाई सक्रिय बनाएको थपलियाले बताए । आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग पुरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी लगभग पुरा भएको जानकारी दिए । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले भने– ‘तयारी लगभग पुरा भएको छ ।’

उनले निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने बताए ।  त्यसक्रममा उनले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४  लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिए । त्यस्तै उनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।

त्यस्तै प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।  साथै आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ ।

निर्वाचनका लागि २,४६९६० कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगिसकेको आयोगले जनाएको छ भने आगामी दुई दिनभित्र देशभरका मतदान केन्द्र निर्माण गरिसक्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति २०७९ मङ्सिर १ गते बिहिबार ०२:४९
प्रतिक्रियाहरु